News 24 Television
विमानस्थल परियोजनाले कतै खुसी कतै रोदन

बारा । सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको छ । निजगढ विमानस्थल मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेसँगै बारा जिल्लाबासी खुसी देखिन्छन् । तर सोही विमानस्थलका कारण विस्थापित हुने डरले बाराकै टांगियाबस्तीका बासिन्दामा भने चिन्ता थपिएको छ । 

मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ  । 

महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु भएको छैन । यद्यपी वर्तमान सरकारले आगामी ६ महिनाभित्र विमानस्थलको मोडालिटी टुंग्याउने बजेटमार्फत घोषणा गरेको छ ।

विमानस्थलको अन्योलसँगै ८ हजार भन्दा बढी जनसंख्या रहेको टाँगिया बस्ती पनि अन्यौलमै छ । विमानस्थल क्षेत्रभित्र पर्ने बस्ती भएकाले विकास निर्माण कार्य पूर्ण रुपमै बन्देज छ । करिव ६५० विगाह क्षेत्रमा फैलिएको विमानस्थल क्षेत्रभित्र पर्ने सबै भन्दा ठूलो बस्ती हो । 

०३१ सालमा बसालिएको बस्ती 

वि.सं. २०३१ सालतिर सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर बस्ती बसालिएको थियो । तामागढी क्षेत्रको जंगल फडानीपछि रोपिएका विरुवा गोडमेलसँगै बाली समेत लगाउन पाउने गरी वन कर्मचारीले नै २०३१ मा सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर वस्ति बसाएका थिए ।

बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि तत्काल उचित प्रवन्ध हुन सकेन । जसले गर्दा यहाँको वस्तिले स्थायी रुप नै लियो । तर अहिलेसम्म भोगचलन गर्दै आएको यहाँका बासिन्दाका लागि कहिलेसम्म यहाँ बस्न पाइने हो अन्योल छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका कारण कतिबेला उठिबास हुने हो थाहा छैन । त्यसैले आफ्नो पुरानो घर पुननिर्माण गर्ने कि चुहिने घरमा दुःखजेलो गरेरै बस्ने भन्ने अन्योल छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सरकारी योजनाकै कारण टांगिया बस्तीमा खानेपानी, सडक र शैक्षिक पूर्वाधार जस्ता विकास निर्माणको काम ठप्पप्राय छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुराले हौसिएका उनीहरुले न विमानस्थल देख्न पाएका छन् न त विकास निर्माण नै । तराईको सुगम ठाँउ भएर पनि यो ठाउँमा टेलिफोनको नेटवर्कले समेत काम गर्दैन । ठूला परियोजनाको कारण यहाँको बस्तीमा सानो खुसीसमेत हराएको छ । 

सरकारको निर्णय स्वागत गरेर बसे पनि सरकारले वेवास्ता गरेको उनीहरुको गुनासो छ । त्यसैले उनीहरुले भन्न थालेका छन्– अब विमानस्थल निमाण होईन, यही ठाँउको लालपुर्जा र विकास हामीलाई चाहिन्छ ।’   

निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको ०६४ माघको सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४–६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तराष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

यस विमानस्थल निर्माणले निजगढका जनता र मलुकको भाग्य र भविष्य उज्वल हुने मात्रै नभई सोझै अन्य मुलुकसंग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहन्छ । जसले रोजगारीको सिर्र्जनासंगै आर्थिक समृद्धिको पनि ढोका खोल्ने छ । त्यसैले  टाँगियाबासीलाई उचित प्रबन्ध मिलाएर यो परियोजनालाई चाँडो निश्कर्षमा पुर्याउनुपर्ने जिल्लावासीको कामना छ । 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update