मुगु । नेपाल सरकारले देशभरि विद्याथीलार्ई बिद्यालयमा टिकाउने दर बढाउनका लागि खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । पछिल्लो समयमा मुगुको सोरु गाँउपालिका १० मा रहेको जगतमाला माध्यामिक बिद्यायलमा सन्चालन गरिएको दिवा खाजाले बालबालिकाको स्वास्थ्य, पोषण र विद्यालय भर्ना एवं सिकाइ निरन्तरतामा सुधार ल्याएको छ ।
सरकारी विद्यालयहरूमा सञ्चालित दिवा खाजा कार्यक्रमले बालबालिकाको समग्र विकासमा अत्यन्तै सकारात्मक प्रभाव पारेको छ । मुगुको जगतमाला माध्यमिक विद्यालयको यो अनुभवले यसलाई पुष्टि गर्दछ ।
बिद्यालयले स्थानीय स्तरमा उत्पादन बस्तुहरुबाट तयार बनाएका खाजा खुवाउने गरेका छन् । नेपाल सरकारको दिवा खाजा कार्यक्रम अनुसार दुर्गम हिमाली क्षेत्रमा प्रतिदिन प्रति विद्यार्थी २५ रुपैयाँ र अन्य क्षेत्रमा २० रुपैयाँमा उपलब्ध हुने दिवा खाजा हरेक दिन अन्नको समूह गहुँ, जौ, मकै, कोदो, लगायतबाट ५० देखि ६० ग्राम त्यस्तै गेडागुडी सिमी, केराउ, भटमास, लगायतबाट ४० देखि ५० ग्राम हुनुपर्ने मापदण्ड तोकिएको छ ।
त्यसैगरी हरियो सागपात तथा फलफूलबाट ३० देखि ५० ग्राम र पशुपन्छीजन्य माछा, मासु, अन्डा, दुध, दही, घिउबाट भने २० देखि ३० ग्राम गरी कुल १ सय ५० देखि २०० ग्राम प्रति विद्यार्थीका लागी प्रतिदिन दिवा खाजा व्यवस्थाका लागि मापदण्ड निर्धारण गरे बमोजिम नै नियमित खाजा खुवाउने गरिएको छ ।
स्थानीय तहहरुले विद्यार्थी संख्याका आधारमा विद्यालयमा वितरण गर्ने गरेका छन् । र, सरकारी मापदण्ड अनुसार खाजा वितरण नगरेमा सोहि अनुसार अनुगमन हुने गरेको छ । दिवा खाजा कार्र्यक्रमपछि दैनिक ८० देखी ९० जना बिद्यार्थीहरुको नियमितता, पोषण र शिक्षामा सुधार आएकोे छ ।
दिवा खाजाको व्यवस्थासँगै विद्यार्थीले जंकफुड खान छाडेका छन् । दिवा खाजा स्थानीय स्तरमा पाइने बस्तुहरुको प्रयोगले गर्दा स्थानिय नागरीकहरुको आय आजनमा परिवतन भई आम्दानीमा पनि सुधार आएको छ ।
सोरु गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रमहरूमा समेत स्थानीय उत्पादनको प्रयोग, शिक्षाको गुणस्तर र बालबालिकाको उज्ज्वल भविष्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।
