काठमाडौं । काठमाडौं उपत्यकाको काठमाडौँ शहर यतिबेला देवदेवी, रथ, लाखे र पुलुकिसीको रंगमा रंगिएको छ । अर्थात काठमाडौको सबैभन्दा उल्लासमय पर्व इन्द्रजात्रा शुरु भएको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधनासँग जोडिएको इन्द्रजात्राको मुख्य आकर्षण कुमारी, गणेश र भैरवको रथयात्रा शुक्रबारबाट सुरु भएको छ ।
भाद्र कृष्ण द्वादशीका दिन यःसिं ठड्याएसँगै सुरु भएको येँया अर्थात् इन्द्रजात्राको मुख्य दिन कुमारी, गणेश र भैरवलाई रथमा राखेर काठमाडौंका विभिन्न टोल परिक्रमा गराइन्छ । जुन शुक्रवार देखि शुरु भएको छ ।
मरुटोल अर्थात् वसन्तपुरबाट सुरु भएको रथयात्रा जैसीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, कोहिटी, चिकंमुगल हुँदै भीमसेनस्थानलगायतका क्षेत्र पुगेर पुनः वसन्तपुर फर्किन्छ ।
इन्द्रजात्रा रथयात्रामै मात्र सीमित जात्रा होइन । यो जात्राको क्रममा लाखे नाच, पुलुकिसी नाच, दशअवतार, दीप्याखं, कुम्हो नाच, महांकाल नाच तथा आकाशभैरव गण नाचहरु समेत जात्राका प्रमुख आकर्षण हुन् ।
हनुमानढोका आसपास देवदेवीका विभिन्न नाच प्रदर्शन भइरहँदा भक्तपुरको माकः प्याखंदेखि हल्चोकको सवभक्कुसम्मले काठमाडौंको सांस्कृतिक माहोललाई थप जीवन्त बनाउँछ । इन्द्रजात्राको कुरा गर्दा यसको किंवदन्तिलाई छुटाउन मिल्दैन ।
किंवदन्तीअनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई व्रतका लागि पारिजात फूल आवश्यक परेपछि इन्द्र पृथ्वीमा फूल खोज्न काठमाडौं आए ।
फूल टिप्दै गर्दा उनलाई चोर ठानेर स्थानीयले नियन्त्रणमा लिए र डोरीले बाँधेर राखे । छोरा छुटाउन आएकी इन्द्रकी आमाले अन्नबालीका लागि आवश्यक कुहिरो दिने वाचा गरेपछि इन्द्रलाई मुक्त गरेर स्वर्ग फर्काइएको विश्वास गरिन्छ । इन्द्रजात्रामा ऐतिहासिक कालदेखि नै राष्ट्रप्रमुख सहभागि हुँदै आएका छन् ।
यसवर्ष पनि जात्रामा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू पनि सहभागी भएका छन् । राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्पराले इन्द्रजात्राको राष्ट्रिय सांस्कृतिक महत्व देखाउँछ ।
रथयत्रा, लाखे नाच, पुलुकिसी लगायतको सहभागिताले जात्राको उल्लास मात्रै देखाउँदैनन् यो जात्रासँगै काठमाडौं आफ्नो सयौं वर्ष पुरानो सांस्कृतिक स्मृतिमा समेत पुग्ने गर्छ । त्यसैले इन्द्रजात्रा परम्परा, आस्था र काठमाडौंको जीवित पहिचानको उत्सवको रुपमा सदियौँदेखि यथावत रहँदै आएको छ ।


