काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको हिमालय टेलिभिजनमार्फत हुने प्रत्यक्ष प्रसारणका लागि रेड बुल टाइटल स्पोन्सरका रूपमा आबद्ध भएको छ।
यस सहकार्यसँगै हिमालय टेलिभिजनमा एनपीएलको प्रसारण रेड बुलको मुख्य प्रायोजनमा प्रस्तुत हुनेछ। नेपालमा क्रिकेटप्रतिको बढ्दो उत्साह र एनपीएलको लोकप्रियतालाई थप उचाइमा पुर्याउने उद्देश्यसहित रेड बुल र हिमालय टेलिभिजन नेटवर्कबीच यो सहकार्य भएको हो। प्रत्यक्ष खेलसँगै प्रि(म्याच र पोस्ट–म्याच कार्यक्रम तथा विशेष खेल सामग्रीमार्फत दर्शकलाई उत्कृष्ट र आकर्षक प्रसारण अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
सहकार्यबारे हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले भने,, “नेपाल प्रिमियर लिगको हाम्रो प्रसारण यात्रामा रेड बुलजस्तो विश्वव्यापी र ऊर्जावान ब्रान्डलाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। नेपाली क्रिकेटले अहिले अभूतपूर्व उत्साह र सम्भावना बोकेको छ। हिमालय टेलिभिजन र हिमालय स्पोर्ट्समार्फत हामी एनपीएललाई उत्कृष्ट प्रसारण, आकर्षक प्रस्तुति र व्यापक पहुँचसहित दर्शकमाझ पुर्याउन प्रतिबद्ध छौं। रेड बुलसँगको यो सहकार्यले त्यस यात्रालाई अझ बलियो बनाउनेछ।”
रेड बुल नेपालका तर्फबाट सरस बेभरेजेज प्रा। लि।का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले भने, “रेड बुल सधैं ऊर्जा, खेलकुद र उत्कृष्ट प्रदर्शनसँग जोडिएको ब्रान्ड हो। क्रिकेटप्रति नेपाली दर्शकको जुन उत्साह र ऊर्जा छ, त्यससँग रेड बुलको स्वभाविक सम्बन्ध छ। एनपीएल आज नेपाली खेलकुदको एउटा महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ र हिमालय टेलिभिजनसँग यसको प्रसारणमा टाइटल स्पोन्सरका रूपमा जोडिन पाउँदा हामी उत्साहित छौं। यो साझेदारीमार्फत हामी क्रिकेटको उत्साहलाई अझ धेरै दर्शक र समर्थकसम्म पुर्याउन चाहन्छौं।”
हिमालय टेलिभिजन नेटवर्कले एनपीएलको प्रत्यक्ष खेल प्रसारणसँगै खेलअघि र खेलपछिका विशेष कार्यक्रम, विश्लेषण तथा प्रतियोगिताका प्रमुख क्षणहरूलाई समेट्दै दर्शकलाई सम्पूर्ण क्रिकेट अनुभव प्रदान गर्नेछ।
रेड बुल र हिमालय टेलिभिजनबीचको यो साझेदारीले ब्रान्ड, खेलकुद र दर्शकलाई एउटै प्लेटफर्ममा जोड्दै नेपालमा खेलकुद प्रसारण तथा स्पोर्ट्स मार्केटिङको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हिमालय स्पोर्ट्सले ८नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रसारण अधिकारका लागि करसहित झण्डै १७ करोड २४ लाख रुपैयाँको कीर्तिमानी रकम८ तिरेर अधिकार प्राप्त गरेको थियो। नेपाली खेलकुद प्रसारणको क्षेत्रमा गरिएको यो अहिलेसम्मकै महत्वपूर्ण लगानीमध्ये एक हो।
यस वर्ष हिमालय स्पोर्ट्सले एनपीएलको प्रसारणलाई अझ व्यापक र समावेशी बनाउँदै अंग्रेजीसँगै नेपाली र मैथिली भाषामा समेत कमेन्ट्री उपलब्ध गराउनेछ। बहुभाषिक कमेन्ट्रीमार्फत देशभरका फरक भाषा र समुदायका क्रिकेटप्रेमीलाई एनपीएलसँग अझ नजिकबाट जोड्ने लक्ष्य हिमालय स्पोर्ट्सले लिएको छ।


