काठमाडौं । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथन यस वर्ष १८औँ संस्करणमा प्रवेश गरेको छ । सिद्धार्थ बैंक काठमाडौं म्याराथन–२०२६ आगामी असोज २४ गते आयोजना हुँदैछ । म्याराथनको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथन यस वर्ष १८औँ संस्करणमा प्रवेश गरेको छ । सिद्धार्थ बैंक १८औँ काठमाडौं म्याराथन–२०२६ आगामी असोज २४ गते अर्थात् १० अक्टोबरमा आयोजना हुने भएको छ । काठमाडौं म्याराथन दौड प्रतियोगितामा सीमित नरही स्वस्थ जीवनशैली, अनुशासन, सामाजिक एकता, सडक सुरक्षा तथा खेल संस्कृतिको प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ ।
यो वर्षको म्याराथनमा हालसम्म ७ हजारभन्दा बढी धावकले दर्ता गरिसकेका छन् भने १ सयभन्दा बढी विदेशी धावक सहभागी हुने बताइएको छ । सडक सुरक्षा अभियानअन्तर्गत काठमाडौं म्याराथनले काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक नियम पालना गरौँ, जीवन बचाऔँ भन्ने सन्देशलाई विशेष रूपमा प्रवद्र्धन गरिरहेको छ ।
सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि दुर्घटनाबाट जोगिऔँ भन्ने सन्देश पनि म्याराथनमार्फत समुदायसम्म पु¥याउने आयोजकको भनाइ छ ।
यस वर्ष सहभागी धावकका लागि असोज २२ र २३ गते बिब तथा टी–सर्ट वितरण कार्यक्रम आयोजना गरिनेछ । सहभागीले सोही क्रममा दौडका लागि आवश्यक अन्य सामग्री पनि पाउनेछन् । ४२.१९५ किलोमिटरको पूर्ण म्याराथन रुटमा १८ वटा हाइड्रेसन स्टेसनको व्यवस्था गरिएको छ । धावकको स्वास्थ्य, ऊर्जा र सहजतालाई ध्यानमा राख्दै आवश्यक पानी तथा हाइड्रेसन व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
धावकको स्वास्थ्य सुरक्षाका लागि मेडिकल निर्देशक डा. सन्देश मास्केको नेतृत्वमा चिकित्सकीय टोली व्यवस्थापन गरिएको छ । ब्लु क्रस अस्पताल, नेपाल कोरिया अस्पताल, भक्तपुर इन्टरनेसनल अस्पताल र एपीएफ अस्पताललगायतसँग समन्वय गरी रुट तथा कार्यक्रमस्थलमा आकस्मिक स्वास्थ्य सेवाको तयारी गरिएको छ ।
काठमाडौं महानगरपालिकासहित सूर्यविनायक, ललितपुर महानगरपालिका, भक्तपुर र मध्यपुर थिमि नगरपालिकासँग आवश्यक समन्वय गरिएको छ । म्याराथन रुटमा पर्ने विभिन्न वडा कार्यालय, सुरक्षा निकाय, रनिङ क्लब, स्वयंसेवक तथा संघ–संस्थासँग सहकार्य गरी म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउने तयारी गरिएको छ ।
म्याराथनमा अमेरिका, अस्ट्रेलिया, चीन, भारत, जापान, दक्षिण कोरिया, बेलायत, फ्रान्स, जर्मनीलगायतका देशका धावक काठमाडौं आउनेछन् । ‘दौडौँ स्वास्थ्यका लागि, दौडौँ सडक सुरक्षाका लागि, दौडौँ समृद्ध र स्वस्थ समाजका लागि’ भन्ने सन्देशसहित काठमाडौं म्याराथनको १८औँ संस्करण आयोजना हुँदैछ ।


