News 24 Television
लगातारको वर्षा : म्याग्दीमा ठूलो जनधनको क्षति

म्याग्दी । लगातारको वर्षाले पहिरो जाँदा म्याग्दीका विभिन्न स्थानीय तहका ७ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् । वर्षाले पुगेको क्षतिले गर्दा अवरुद्ध भएको सञ्चार तथा विद्युत सेवा सदरमुकाममा सुचारु भएको भए पनि ग्रामिण भेकसम्म भने पुग्न सकेको छैन । अहिलेसम्म ग्रामिण सडकहरु अबरुद्ध,नै छन् भने सञ्चार र विद्युत पनि पुग्न सकेन गाउँमा, २३५ घरगोठमा क्षती भएको छ भने २४८ घर उच्च जोखिममा छन् ।

अविरल वर्षापछि आएको पहिरोको पछिल्लो अपडेट अनुसार ७ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । बेपत्ता भएका दुई जनाको परिवारले उनीहरुको मृत्यु भएको ठानेर कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि स्थानीय र प्रहरीको सहयोगमा उद्धार तथा राहत वितरणको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अन्नपुर्ण गाउँपालिका ५ पाउद्वारबाट मात्रै ११५ जनाको हेलिउद्धार गरिएको हो । हाल सम्म १०४ घर पूर्ण क्षति, ३७ आंशिक क्षती, २४८ उच्च जाखिम र ९५ गोठ पूर्ण क्षति भएको छ । बेनी जोमसोम सडक खण्ड अबरुद्ध छ भने बेनी दरवाङ सडक खण्ड पनि अबरुद्ध छ । बेनी बागलुङ सडक खण्ड आंशिक रुपमा साना सवारी सञ्चालन हुने गरी खुलेको छ । म्याग्दी जिल्ला भित्रका ग्रामिण सडकहरु भने अधिकांश अबरुद्ध नै छन् ।   

बिपद्को समयमा मुख्य रुपमा आवश्यक पर्ने सञ्चार र बिद्युत सेवा भने सदरमुकाम बेनी बाहेकका क्षेत्रमा अझै पनि पुर्ण रुपमा पुग्न सकेको छैन । जिल्लाका अधिकांश भुभागमा पुगेको विद्युत सेवा यस पटक वर्षाले गर्दा विद्युत पोलमा क्षती हुँदा अबरुद्ध छ । 

अहिले सम्म क्षतीको विवरण संकलनमै रहेको विद्युत कार्यालयका प्रमुख सत्य नारायण गामीले जानकारी दिए । हालसम्म बेनी, बाबियाचौर, दरवाङ, डाँडाखेत, झिँ, पाखापानी, भकिम्लि, दिच्याम, देविस्थान र इग्री क्षेत्रमा विद्युत पुगेको गामीको भनाई छ । 

विद्युत प्रवाहका लागि कार्यालयका कर्मचारीहरु लागि रहेको र जति सक्यो चाँडो विद्युत प्रवाह गराउने योजना सहित काम भै रहेको छ । सदरमुकाम बेनी क्षेत्रमा खानेपानीको हाहाकार नै छ । बेनी खानेपानीेले वितरण गर्ने पानीको मुख्य सप्लाइ लाइनमा अबरोध भएको कारण समस्या सृजना भएको हो । टेलिफोन सेवा पनि आंशिक रुपमा मात्रै चलेको छ । बाढीले म्याग्दीका सरकारी तथा निजी तथा संस्थाका पूर्वाधार तथा सवारीसाधनमा पनि क्षती पुगेको छ । 

प्राकृतिक चिकित्सालयका रुपमा रहेको बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्डमा पनि म्याग्दी नदिले ठूलो क्षति पुगेको छ । कुण्ड व्यवस्थापन समितिका अनुसार भौतिक संरचना तथा अन्य क्षती हेर्दा एक करोड भन्दा बढीको पूर्वाधार तथा भौतिक क्षती भएको छ । पानी संकलन गर्ने ड्रम, जेनेरेटर, वाथ टब लगायतको संरचनमा क्षति पुगेको छ । क्षती भएको र लेदोले पुरीएको संरचना स्थानीय स्तरमै सरसफाइको काम भै रहेको छ ।

बेनी नगरपालिका ८ बेनी बजारमै असोज १३ गते राती एक्कासी पहिरो झर्दा १२ घरमा क्षती पुग्नुका साथै कयौं घरमा लेदो पसेको हो । बेनी बजार माथि रहेको पाखोबाट पहिरो झरेपछि स्थानीयहरु भागाभाग भएका थिए । रातको समयमा आएको पहिरोले बेनीबजार क्षेत्रलाई नै त्रासमा पारेको थियो । 

जिल्लामा एनसेल नेटवर्क सामान्य सञ्चालन भए पनि नेपाल टेलिकमको सेवा बन्द भएको छ । नेपाल टेलीकमले ३६ घण्टा सम्म ब्याकअप हुन्छ भनेको भएपनि पाँच घण्टा सम्म पनि टेलीकमले सेवा दिन नसकेको स्थानीयले गुनासो गरेका छन् । 

११ गते देखि पानी रोकिएको भए पनि आधिकारीक तथ्याङ्क संकलनदेखि सडक, विद्युत तथा सञ्चार सेवा पु¥याउने सन्दर्भमा भने सम्बन्धीत निकायको काम गर्ने शैली कमजोर देखिएको छ । बेनी जोमसोम सडक खण्ड तर्फ बेनीदेखि ३ किलोमिटर गलेश्वर भन्दा माथि जान सकेको छैन । 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update