काठमाडौं । विश्व शेर्पा संघले आगामी अक्टोबर ८ देखि १० सम्म भारतको पश्चिम बंगालमा आयोजना गर्न लागेको ‘विश्व शेर्पा सम्मेलन–२०२६’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दार्जिलिङ, सोनादा र कालिम्पोङमा हुने सम्मेलनमा विश्वका करिब २५ देशबाट प्रत्यक्ष तथा भर्चुअल माध्यममार्फत प्रतिनिधि तथा सहभागी हुने संघले जनाएको छ ।
विश्व शेर्पा संघले काठमाडौंमा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव आङ पेम्बा शेर्पाले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए । महासचिव शेर्पाका अनुसार विश्वभर छरिएर रहेका शेर्पा समुदायलाई साझा मञ्चमा जोड्दै भाषा, धर्म, संस्कृति, परम्परा, पहिचान र सामाजिक एकताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पाले सम्मेलनमा सक्रिय सहभागिता जनाई सफल बनाउन सबैलाई आह्वान गरे ।
सम्मेलनको पहिलो दिन अक्टोबर ८ मा दार्जिलिङको चौरस्तामा उद्घाटन समारोह हुनेछ । सोही अवसरमा शेर्पा समुदायको इतिहास, संस्कृति र मौलिक जीवनपद्धतिसँग सम्बन्धित ‘शेर्पा सम्पदा’ पुस्तक विमोचन गरिनेछ ।
संघका संस्थापक अध्यक्ष आङ दोर्जी लामा शेर्पाका अनुसार पुस्तकमा शेर्पा समुदायका जन्म, विवाह तथा मृत्यु संस्कार, प्रमुख चाडपर्व, परम्परागत खानपान, भेषभूषा, भाषा, गहना, नाता–सम्बन्ध, साङ सर्किमलगायत शुभकार्य तथा धार्मिक संस्कारका विषय समेटिएका छन् ।
संघले पुस्तकले शेर्पा समुदायको मौलिक सम्पदा र सांस्कृतिक विविधतालाई अभिलेखीकरण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरेको छ ।
उद्घाटन समारोहमा शेर्पा समुदायका लागि विशेष योगदान पु¥याएका व्यक्तित्वलाई ‘शेर्पा रत्न’ तथा ‘शेर्पा तारा’ सम्मान प्रदान गरिनेछ । संस्थापक अध्यक्ष शेर्पाका अनुसार सम्मान कार्यक्रम सम्मेलनको प्रमुख आकर्षणमध्ये एक हुनेछ ।
अक्टोबर ९ मा दार्जिलिङको सोनादामा ‘द शेर्पाज अफ इस्टर्न हिमालयज इन्टरनेसनल कन्फरेन्स’ आयोजना हुनेछ । कार्यक्रममा शेर्पा समुदाय, हिमाली क्षेत्र र पूर्वी हिमालयसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ ।
सम्मेलनमा शेर्पा भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै विश्वभर रहेका शेर्पा समुदायबीच एकता, सहकार्य र समन्वय अभिवृद्धिका विषयलाई प्राथमिकता दिइनेछ ।
विश्व तापमान वृद्धिका कारण हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायमा परेको प्रभाव र जोखिमबारे पनि सम्मेलनमा छलफल हुनेछ । त्यस्तै हिमाल आरोहण तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत शेर्पाहरूको सुरक्षा, सामाजिक सुरक्षा तथा अवकाशपछिको पेन्सनलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाइने संघले जनाएको छ ।
कालिम्पोङमा नयाँ नेतृत्व चयन
सम्मेलनको अन्तिम दिन अक्टोबर १० मा कालिम्पोङको लाभामा विश्व शेर्पा संघको तेस्रो महाधिवेशन आयोजना हुनेछ । बन्दसत्र, नयाँ कार्यसमिति चयन तथा समापन समारोह सोही दिन हुनेछ ।
महाधिवेशनमार्फत संघको नयाँ नेतृत्व चयन गरिनेछ । सन् २०१७ मा स्थापना भएको विश्व शेर्पा संघले विश्वभर रहेका शेर्पा समुदायलाई साझा मञ्चमा जोड्दै भाषा, संस्कृति, परम्परा, पहिचान तथा सामुदायिक हितका विषयमा काम गर्दै आएको छ ।


