भक्तपुर । नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ को १४औं महाधिवेशन अन्तर्गतको क्षेत्रीय अधिवेशनमा देखिएको चर्को गुटगत प्रतिस्पर्धालाई चिर्दै अन्ततः सहमतिको संयुक्त प्यानल विजयी भएको छ। ११ गतेदेखि सुरु भएको मनोनयन र सहमतिको लामो रस्साकस्सीपछि जिल्लाभरका र क्षेत्रभरीका नेताहरु विशेष पक्षधर र नियमित पक्षधरमा विभाजित भएर निर्वाचन लड्ने अवस्था आएको थियो। तर अन्तिम समयमा सबै पक्षलाई मिलाएर लगिएपछि अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।
यस अधिवेशनको सबैभन्दा चर्चामा रहेको नाम हो बद्री राम थापा। कांग्रेसको वैचारिक र ऐतिहासिक विरासत बोकेका थापा भारी मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
को हुन् बद्री राम थापा ?
उनी कुनै साधारण कार्यकर्ता मात्र होइन, उनी प्रजातन्त्रका लागि लामो समय जेलनेल भोगेका प्रजातान्त्रिक सेनानी बलराम थापाका सुपुत्र
हुन् । आफ्नो पिताको त्याग र निष्ठाको विरासतलाई बोकेर विद्यार्थी राजनीतिबाट उदाएका भएका थापा यसअघि भक्तपुर जिल्ला नेविसंघको सभापति भएर संगठनलाई बलियो बनाइसकेको नेता हुन् । जिल्लादेखि केन्द्रसम्म पहिचान बनाएका थापाको यो जितलाई भक्तपुर कांग्रेसमा युवा र पुरानो पुस्ताको सेतुको रुपमा हेरिएको छ।
निर्वाचन पछि विजयी टिमले अब गुट होइन, पार्टी बलियो बनाउने र २०८४ को निर्वाचनमा भक्तपुर(२ मा कांग्रेसको किल्ला जोगाउने उद्घोष गरेको छ।


