News 24 Television
बाढीमा बेपत्ताहरु नभेटिएपछि अन्तिम संस्कार शुरु

मकवानपुर । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका परिवारले आफ्ना परम्परा र संस्कारअनुसार दाहसंस्कारको प्रक्रिया पूरा गरी किरिया सुरु गरेका छन् । लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले आफन्तको मृत्यु भएको स्वीकार गर्दै परम्परा अनुसार अन्तिम संस्कार सुरु गरेका हुन् । 

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण मकवानपुरका धेरै मानिसहरु सम्पर्कविहीन बने । त्यसमध्ये केही सम्पर्कमा आए भने ४ जनाको शव फेला पर्यो । बाढीमा परेर मकवानपुरको थाहा नगरपालिकाका मात्रै २० जना अझै सम्र्पबिहीन छन् । 

बाढी पश्चात् आफ्ना नागरिक खोज्न थाहाका जनप्रतिनिधि सहित पीडित परिवारहरु रसुवा, नुवाकोट, धादिङ, चितवन देखि पोखरासम्म पुगे । सासको आश मरेपछि शव गृहदेखि खोला किनारसम्म खोज्न पुगेका उनीहरुले लास समेत भेट्न सकेनन् । सम्पर्कविहीनमध्ये एकजनाको पनि शव फेला नपरेपछि पीडित परिवारहरूले आ–आफ्नो परम्परा र संस्कारअनुसार दाहसंस्कारको प्रक्रिया पूरा गरी किरिया सुरु गरेका छन् । 

बाढीमा सम्पर्कविहीन भएकामध्ये अधिकांश सवारी चालक हुन् । केरुङ नाकामा सवारी लिएर गएका उनीहरु बाढीपछि सम्पर्कविहीन भएका थिए । आफन्तका अनुसार प्राय  सबैजना केरुङ, स्याफ्रुवेशी लगायतका क्षेत्रमा रहेको बेला बाढी आएको थियो । 

सासको आश मारिसकेका आफन्तहरुले एकपटक घटनास्थल हेर्न मन गरेपछि लागि थाहा नगरपालिकाले नै ३ वटा गाडी रिजर्भ गरेर आफन्तलाई नुवाकोट र रसुवा पु¥याएको थियो । त्यहाँको स्थिति अवलोकन गरेर घर फर्किएका अधिकांशका परिवारहरुले संस्कार सुरु गरेको हुन् ।  

त्यसो त विपद्का बेला थाहा नगरपालिकाले आफ्ना नागरिकको खोज उद्धारदेखि संस्कार कार्यसम्ममा हातेमालो गर्दै आएको छ । तत्कालिन अवस्थामा सम्पर्कविहीन व्यक्ति खोजीका लागि पीडित परिवारलाई गाडीको व्यवस्था सहित प्रति परिवार २० हजार रुपैँया सहयोग गरेको थियो । संस्कार सकिएर मृत्यु दर्ता भैसकेपछि प्रति परिवार १ लाख रुपैँया सहयोग गर्ने कार्यपालिका बैठकबाट निर्णय भएको छ । 

भोटकोशी बाढी पश्चात् मकवानपुरका ५८ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि उद्धार तथा खोजीका क्रममा मकवानपुरका ४५ जनालाई रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएको थियो । हराएकामध्ये चार जनाको भने शव फेला परेको थियो । 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update