काठमाडौं । धादिङको गजुरी गाउँपालिकाले वडा दसैँ २०८३ लाई लक्षित गर्दै काठमाडौंमा बसोबास गर्ने गजुरीवासीका लागि निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
दसैँमा घर फर्किने गजुरीवासीलाई यातायातमा सहजता प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले असोज २९, ३०, ३१ र कात्तिक १ गते काठमाडौंका विभिन्न स्थानबाट गजुरीतर्फ निःशुल्क बस सञ्चालन गर्न लागेको हो।
गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले काठमाडौंमा रहेका गजुरीवासीलाई दसैँमा घर फर्किन सहज होस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको बताए।
‘दसैँमा आफ्ना परिवार र आफन्तसँग भेटघाट गरी पर्व मनाउन घर फर्किने गजुरीवासीलाई यातायातको समस्या नहोस् भनेर गाउँपालिकाले निःशुल्क बस सेवा सञ्चालन गरेको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘सम्बन्धित सबैले समयमै सम्पर्क गरी सिट सुरक्षित गरेर यो सेवाको लाभ लिन आग्रह गर्दछु।’
गाउँपालिकाका अनुसार असोज २९ गते बिहान १० बजे स्युचाटार पुल, बाफलबाट/खसी बजार छुट्ने र दिउँसो ३ बजे भाटभटेनीबाट बस छुट्नेछ। असोज ३० र ३१ गते तथा कात्तिक १ गते पनि साेही तोकिएको समयअनुसार निःशुल्क बस सेवा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
निःशुल्क यातायात सेवा लिन चाहनेले सम्बन्धित सम्पर्क व्यक्तिमार्फत समयमै सिट सुरक्षित गर्नुपर्नेछ। यात्राका क्रममा सक्कल नागरिकता, मतदाता परिचयपत्र वा पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने गाउँपालिकाले जनाएको छ।
सिट सुरक्षित गर्न गाउँपालिकाकाे अध्यक्षकाे स्वकीय सचिव सुमन लो तामाङलाई ९८६९३५१३४५, केशरमान श्रेष्ठलाई ९८४२२९४५९७, दिवाकर श्रेष्ठलाई ९८४१११०२३ र सुमन लामालाई ९८४११११०२३ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले निःशुल्क यातायात सेवाका लागि बा.प्र. ०१–००१ ग ४४१७, बा.१ ग ३५८३ र बा.२ क ८९९६ नम्बरका बस सञ्चालन गर्ने जनाएको छ।
गाउँपालिकाले दसैँमा घर फर्किने सबै गजुरीवासीलाई तोकिएको समय र स्थानमा उपस्थित भई निःशुल्क यातायात सेवाको उपयोग गर्न आग्रह गरेको छ।


