News 24 Television
चियामा बियरभन्दा धेरै अल्कोहल, रुस्लानको बदमासी, मौन नियामक निकाय !

काठमाडौं । ललितपुरको जावलाखेल डिस्टिलरीले ५ प्रतिशत अल्कोहल भएको पेयलाई रुस्लान पिच आइस टी र लेमन आइस टी नाममा बजारमा बिक्री गरेपछि उपभोक्ता झुक्याएको आरोप लागेको छ । योसँगै खाद्य, मदिरा र अन्तःशुल्क कानुनको पालना सम्बन्धमा गम्भीर प्रश्न उठेको छ ।

ललितपुरको जावलाखेलस्थित जावलाखेल डिस्टिलरी प्रालिले चियाको नाममा ५ प्रतिशत अल्कोहलयुक्त पेय पदार्थ बिक्री गरिरहेको पाइएको छ । 

मदिरा उत्पादन तथा बिक्रीका लागि स्थापना भएको कम्पनीले रुस्लान पिच आइस टी र ‘रुस्लान लेमन आइस टी’ नाममा २७५ मिलिलिटरका बोतल बजारमा बेचिरहेको छ । गत वैशाखदेखि बजारमा ल्याइएको भनिएको यी उत्पादनको मूल्य प्रतिवोटल २२५ रुपैयाँ तोकिएको छ । 

कम्पनीले यी उत्पादनलाई रेडी टु ड्रिंक अर्थात् सिधै पिउन मिल्ने अल्कोहलिक बेभरेजका रूपमा प्रस्तुत गर्दै आएको छ । तर उत्पादनको नाममा आइस टी जोडिएको छ भने यसको प्याकेजिङले समेत सामान्य चिसो चियाको झल्को दिने गरि उपभोक्ता झुक्काउने काम कम्पनीले गरेको छ । उद्योग विभागको औद्योगिक सम्पत्ति अभिलेखमा भने रुस्लान पिच आइस्ड टी र रुस्लान लेमन आइस्ड टीलाई अल्कोहलिक बेभरेज वर्गमा राखिएको देखिन्छ । 

नाममा टी भए पनि यो सामान्य चिया नभएर अल्कोहलयुक्त पेय हो । ५ प्रतिशत अल्कोहल रहेको उत्पादनलाई सामान्य चियाजस्तो नाम र प्रस्तुतिमा बजारमा पठाउँदा उपभोक्ताले बोतल हेरेकै भरमा त्यसमा मदिरा रहेको स्पष्ट रूपमा बुझ्न सक्दैनन् ।

त्यसैले यसको उत्पादक जावलाखेल डिस्टिलरी प्रालिले आम उपभोक्तामाथि समेत खेलबाड गरिरहेको छ । 

कम्पनीले प्याकेजिङमा अल्कोहोलिक बेभरेज र ५ प्रतिशत अल्कोहलको विवरण उल्लेख गरेको दाबी गरिए पनि ती विवरण उपभोक्ताले सजिलै देख्ने र बुझ्ने गरी प्रस्तुत गरिएको छैन । यसै विषयमा नियामक निकायमा उजुरीसमेत परेको बताइन्छ । तर अहिलेसम्म प्रभावकारी कारबाही भएको छैन ।

खाद्य ऐनले के भन्छ ?

खाद्य ऐन, २०२३ को दफा ४ ले झुक्याई वा भ्रममा पारी खाद्य पदार्थ बिक्री–वितरण गर्न नहुने व्यवस्था गरेको छ । दफा ४ विपरीतको कसुर पुष्टि भएमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । 

त्यस्तै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले पनि उपभोक्तालाई भ्रममा पार्ने गरी खाद्य पदार्थको उत्पादन, प्याकेजिङ तथा लेबलिङ गर्न रोक लगाएको छ । उक्त ऐनको दफा १७ को खण्ड (ख) मा खाद्य पदार्थमा प्रयोग भएको सम्मिश्रण वा दाबीबारे झुटो जानकारी दिने अथवा भ्रामक दाबी गर्न नपाइने उल्लेख छ ।

त्यसैगरी खण्ड (ङ) ले प्याकेजिङ गरिएको खाद्य पदार्थको लेबलमा प्रयोग गरिने लिखत, भनाइ, चिन्ह वा डिजाइनलगायतका विवरण झुटो वा भ्रामक रूपमा प्रस्तुत गर्न रोक लगाएको छ । 

यस्तो कसुरमा व्यक्ति, कम्पनी तथा सञ्चालकलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको दाबी गरिएको छ । दफा ४० र ४१ ले यसलाई कसुर तथा सजायको व्यवस्थासँग जोडेको छ । 

यस आधारमा ५ प्रतिशत अल्कोहल भएको बियर जस्तै पेय पदार्थलाई आइस टीका रूपमा बजारमा प्रस्तुत गरिएको विषयमा नियामक निकायले उत्पादनको लेबल, वर्गीकरण, बिक्री अनुमति र उपभोक्ता सूचना प्रणालीबारे कानमा तेल हालेर बसेको देखिन्छ । 

मदिराको लाइसेन्स र अन्तःशुल्कको प्रश्न पनि उस्तै गम्भीर

मदिरा ऐन, २०३१ तथा अन्तःशुल्क ऐन, २०५८ र अन्तःशुल्क नियमावली, २०५९ अनुसार मदिराको उत्पादन, पैठारी, बिक्री वा सञ्चयका लागि आवश्यक इजाजतपत्र र अन्तःशुल्कसम्बन्धी प्रक्रिया पालना गर्नुपर्ने व्यवस्था छ । 

त्यसैले कम्पनीले रेडी टु ड्रिंक भनेर बजारमा पठाएको भए पनि ५ प्रतिशत अल्कोहल भएको उत्पादनको कानुनी वर्गीकरण के हो ? त्यसमा मदिरासम्बन्धी इजाजत र अन्तःशुल्क प्रक्रिया पूरा गरिएको छ कि छैन भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ ।

कम्पनीका सञ्चालक राजबहादुर शाह को हुन् ?

चियाको नाममा अल्कोहलयुक्त पेय बजारमा पठाएको आरोप लागेको जावलाखेल डिस्टिलरीका प्रबन्ध निर्देशक राजबहादुर शाह हुन् । शाह अन्य वित्तीय अनुसन्धानसँग समेत जोडिएका व्यक्ति हुन् । धितोपत्र बोर्डको अनुसन्धानमा शाहसहित केही व्यवसायीले नेपाल रिइन्स्योरेन्सलगायतका कम्पनीको सेयर उधारोमा खरिद गरी मूल्य बढाउन सहयोग गरेको देखिएको दाबी गरिएको थियो । थप अनुसन्धानका लागि सीआईबीमा पठाइएको विवरणमा समेत शाहको नाम उल्लेख भएको छ । 

सीआईबीको अनुसन्धान विवरणअनुसार भृकुटी स्टक ब्रोकिङमार्फत बीमा कम्पनीको रकम प्रयोग गरी शाहको नाममा सेयर खरिद गरिएको र करिब ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ बराबरको लाभ पुगेको अभियोगपत्रमा उल्लेख भएको थियो । नेपाल रिइन्स्योरेन्सको सेयर करिब १ अर्ब ४१ करोड ८० लाख रुपैयाँमा खरिद गरिए पनि शाहले करिब ५२ करोड ५० लाख रुपैयाँ मात्र ब्रोकरलाई भुक्तानी गरेको अनुसन्धानमा देखिएको बताइएको छ । 

उनी हाल थाइल्यान्डमा रहेको अनुसन्धान विवरणले देखाएको दाबी छ । उता आइस टीबारे प्रतिक्रिया लिन खोज्दा कम्पनीका कर्मचारीले निर्देशक गुरुप्रसाद अधिकारी उपस्थित नभएको र अरूले विषयमा जवाफ दिन नसक्ने बताएका छन् । 

अधिकारीसँग सम्पर्क गर्ने प्रयाससमेत सफल हुन सकेन । जावलाखेल डिस्टिलरीले २१ भन्दा बढी प्रकारका अल्कोहलिक उत्पादन गर्दै आएको छ । यसको चर्चित ब्रान्ड रुस्लान भोड्का हो । तर टुबोर्ग बियर जत्तिकै ५ प्रतिशत अल्कोहल भएको पेयलाई चियाको नाममा बजारमा बेचेर गद्दारी गरिरहेको कम्पनीलाई उपभोक्ता अधिकार, खाद्य कानुन, मदिरा कानुन र अन्तःशुल्क कानुनको छुट दिने काम भइरहेको छ । उजुरी परिसक्दा पनि नियामक मौन रहेको विषय साच्चिकै गम्भिर छ ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update