काठमाडौं । काठमाडौंमा पैदलयात्रु र महिलालाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्ने गिरोहका नाइके आयन माझी प्रहरीको गोली लागेर पक्राउ परेका छन् । अनुसन्धानबाट गिरोहले १५ भन्दा बढी मोटरसाइकल चोरी गरेको र हतियार खरिदको तयारी गरेको खुलेको छ ।
सोच्नुहोस त ? तपाई आफनै सुरमा काठमाडौंका गल्ली वा सडकमा हिडिरहनुभएको छ वा तपाईको बालबच्चा एकान्तमा खेलीरहेका छन् भने अचानक अन्जान ब्यक्ति आउँछ ।
केही सोच्न नपाउँदै झयाप्प तपाईको कानमा समात्छ, एक सकेन्डमा कान च्यातिन्छ र कानमा रहेको सुनको मुद्रा वा टप गायब हुन्छ । तपाईले चोर चोर भन्नेर गुहार माग्नुहुन्छ ? तर लुटेर समूह बाईकमा हुइकिदै भिडमा हराईसकेको हुन्छ । यति मात्र होईन बिहान सवरै मर्निङ वाकमा हिड्दा होस् या त साँझ कामबाट घर फकिदाँ बिशेषगरि महिलाहरुलाई निशाना बनाउने ।
मोटर साईकलमा आउने चार जनाको समूह उनीहरु केही समय सामान्य मान्छे जस्तै देखिन्थे । बाटो सोधे जस्तो गर्दथे । तर अवसर पाउने बितिके आक्रमण गरेर घाटीको सुनको स्रिकी तानेर सेकेन्डभरमै गायब हुन्थे । यही गिरोहका नाइके प्रहरीको गोली लागेर पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार २४ वर्षीय आयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुकुरी प्रहार गरेपछि गोली चलाइएको हो ।
सिन्धुलीको मरिण गाउँपालिका–५ का माझीलाई बुधबार साँझ जडीबुटी पुलमुनिको सडकखण्डमा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सो क्रममा उनले प्रहरी सहायक हवल्दार डम्बरबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि घुँडामुनि गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
माझीको बयान र अनुसन्धानका आधारमा प्रहरीले भक्तपुरको ठिमीबाट ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार लुटपाटका क्रममा मोक्तानले मोटरसाइकल चलाउने र थिङ पछाडि बसेर सिक्री तान्ने गरेका थिए ।
गिरोहका गतिविधि माझीले कमाण्ड गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
करिब ९ महिनाअघि पक्राउ गरिएको सिक्री र डलर लुट्ने समूहसँग पनि आयन समूहको नेक्सस देखिएको छ । लुटपाटकै लागि उनीहरूले १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेका छन् । यो समूहमा अरु पनि हुन सक्ने आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।
प्रहरीका अनुसार गिरोहले सर्वसाधारणसँग बाटो सोध्ने बहाना बनाएर अवसर पाउनेबित्तिकै घाँटीमा लगाएको सुनको सिक्री तानेर मोटरसाइकलमा फरार हुने गरेको थियो ।
लुटपाटपछि प्रहरीको निगरानी छल्न तीन वटाभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको समेत खुलेको छ । यही समूहले असोज १४ गते राति बौद्धमा तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई गेट नम्बर २ नजिकै रोकेर दुई लाख रुपैयाँ नगद तथा कागजात लुटेको प्रहरीको भनाइ छ । त्यस्तै असोज १३ गते डल्लु चौतारामा कारभित्र रहेका रमेश खड्काको घाँटीबाट साढे तीन तोलाको सुनको सिक्री लुटिएको थियो ।
उक्त सिक्रीको मूल्य करिब १० लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा माझीको आपराधिक पृष्ठभूमिसमेत लामो रहेको खुलेको छ । काठमाडौं, भक्तपुर र काभ्रेमा उनीविरुद्ध डाँका चोरीका २७ वटा मुद्दा दर्ता रहेको प्रहरीको भनाइ छ ।
२०७७ सालमा डाँका चोरी मुद्दामा तीन महिना कैद बसेका माझी धरौटीमा छुटेर फरार भएका थिए । अदालतले पुनः ६ महिना कैद तोकेपछि २०८२ वैशाखमा पक्राउ परी तीन महिना कैद भुक्तान गरेर छुटेका थिए । त्यसपछि पनि उनी लुटपाटमा सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उपत्यकाका विभिन्न बैंकका एटीएम बुथमा भएको लुटपाटमा समेत माझीको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ । गिरोहले राति तथा बिहान इनड्राइभ र पठाओ चालकको बहाना बनाएर यात्रुलाई सुनसान स्थानमा पु¥याउने र हतियार देखाएर लुटपाट गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
यसैगरी सिक्री लुट्ने, मोटरसाइकल चोरी गर्ने र डलर देखाएर ठगी गर्ने समूहसँग सम्पर्क विस्तार गरी माझीले आफ्नै गिरोह बनाएको प्रहरीको भनाइ छ । यो गिरोहले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका आधुनिक हतियार खरिद गर्ने तयारीसमेत गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले गिरोहमा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।


