News 24 Television
दशैंको भेडाच्याङ्ग्रा, १० देखि १५ हजार सस्तियो

कास्की । दशैंका लागि मुस्ताङ लगायत विभिन्न हिमाली जिल्लाबाट पोखरा ल्याइएको भेडा तथा च्याङग्राको मूल्य यसपटक भने केही सस्तिएको छ । कोरोना महामारीपछि उकालो लागेको भेडा च्याङग्राको मूल्य यो दशैमा भने १० देखि १५ हजारसम्म सस्तिएको छ । दशैं नजिकिँदै गर्दा मुस्ताङ र पश्चिमका जिल्लाबाट पोखरामा ठुलो संख्यामा भेडाच्याङग्रा भित्रिएका छन् । 

कुनै समय थियो कास्की जिल्ला मात्र नभई गण्डकी प्रदेशका पहाडी जिल्लामा हिमाली भेडा च्याङ्ग्रा भन्दा घरपालुवा खसीबोका महङ्गा थिए । तर आजकल पहाडी खसीबोका भन्दा झण्डै तेब्बर छ हिमाली जिल्लाबाट आउने भेडा च्याङ्ग्राको मुल्य ।

हिमालको काखमा यार्सागुम्बा लगायतको जडिबुटी खाएर हुर्केको भन्दै हिमाली भेडा च्याङ्ग्राको माग बढ्दै गएको देखिन्छ । माग बढेपनि मूल्यमा भने यस वर्ष अघिल्लो वर्षको तुलनामा केही सस्तिएको छ । हिन्दुहरुको महान पर्व बडादशैंको लागि अहिले हिमाली भेगका भेडाच्याङग्रा पोखरामा दशै लाग्न भन्दै पहिलेबाट भेडाच्याङग्रा विक्री सुरु भइसकेको छ । 

मुस्ताङबाट आउने र देशका पश्चिम जिल्लाबाट आउने भेडाच्याङग्रा पोखरामा विक्री वितरण गरिन्छ । उपभोक्ताको माग अनुसार नै पोखराको विभिन्न स्थानमा भेडा च्याङ्ग्रा बिक्री वितरणका लागि राखिएको व्यवसायीहरु बताउँछन् । 

भेडाच्याङग्राको भाउ विगतका वर्षमा भन्दा यो पटक सस्तियसँगै उपभोक्ता पनि खुशी भएर भेडाच्याङग्रा खरिद गर्न उत्साहित देखिन्छन् । 

अहिले ३० देखि ४० हजार रुपैयाँमा रोजा च्याङग्रा पाइएको छ । मुस्ताङबाट ल्याइएको कालो च्याङग्रा पोखरेलीले विशेष रुची राख्ने गर्छन् । दशैं तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ ।

मुल्य घटेसँगै भेडा च्याङग्रा खरिदका लागि पुग्ने उपभोक्ताको भिड पनि व्यापक छ पोखरामा । त्यसमाथि हिमाली भेगमा हुर्किएका भेडा च्याङ्ग्राको मासु स्वादिलो हुने भएकाले उपभोक्ताको भीड लाग्ने गरेको छ । 

मुस्ताङका साथै डोल्पा, मुगु, जुम्ला, दार्चुलाबाट ल्याइएका च्याङग्राहरू दशैंमा बिक्रीका लागि पोखरा राख्ने गरिन्छ । जडिवुडीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर हुने विश्वास गरिन्छ । दशैमा पोखरेलीको भान्छामा च्याङग्राको मासु पकाउने चलनै भएको छ । पोखराबाट काठमाडौँ र तराईका केही जिल्लामा समेत भेडाच्याङग्रा लैजाने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update