News 24 Television
नजिकिए चाडपर्वः चोरीदेखि ठगीका खतरा, सरकारले गरिरहेको तयारी र अब के गर्नुपर्छ ?

काठमाडौं । नजिकिदै गरेका चाडपर्वमा महंगी, असुरक्षा र जनताले प्रताडना नै पाउने स्थिति बन्छ। घर जाने यात्रुले पाउने सास्तीदेखि ठगी, चोरी तथा अन्य घटनाहरु बग्रेल्ती हुने गर्छन्। भने महंगीको मार समेत देखिने गर्छ। यस्तोमा के गर्दैछ त सरकार ? 

नेपालीहरुका विभिन्न चाड दशैं, तिहार, छठ जस्ता महत्वपूर्ण चाडपर्वहरु नजिकिदै गएका छन्। यस्तोमा नेपालीहरुले लामो समय बिदा पाउने र घर फर्किनेक्रम जारी रहन्छ। काठमाडौं उपत्यका केन्द्रित बसाईका कारण उपत्यकाबाट बाहिरिने यात्रुहरुले बसपार्कदेखि विमानस्थलमा समेत सास्ती खेप्ने गरेका छन्। यस्तोमा सरकारले के गर्दैछ ? 

१. अत्यावश्यक सेवा नियमित सञ्चालन

सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस ब्रिफिङको आयोजना गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको बताए।

सकारले अत्यावश्यक सेवा सञ्चालनमा नियमितता दिन भनेको छ। यस्तो विगतदेखि नै हुने गरेको भएपनि प्रभावकारी ढंगले सेवा प्रवाह भने हुन सकेको देखिन्न। यो पटक कसरी कार्यान्वयन हुन्छ भन्ने चासो बढेको छ । 

२. सुरक्षा जाँच

नजिकिँदै गरेका चाडपर्वहरूलाई मध्यनजर गर्दै कास्की प्रहरीले पोखरा भित्रने मुख्य नाकाहरूमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आपराधिक गतिविधि नियन्त्रण र लागुऔषध ओसारपसार रोक्ने उद्देश्यका साथ प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक (सरप्राइज) जाँचलाई तिब्र बनाएको हो । पोखरा अन्य जिल्लाहरूसँग जोड्ने प्रमुख ट्रान्जिटका रूपमा रहेको हुनाले चाडबाडको मौका छोपी हुनसक्ने गैरकानूनी गतिविधि रोक्न प्रहरीले उच्च शतर्कता अपनाएको छ । 

यसै सिलसिलामा पोखरा महानगरपालिका–२५, हेम्जास्थित सुइखेतमा विशेष सुरक्षा जाँच गरिएको छ । उक्त जाँच अभियानमा गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा लागुऔषध र विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ । जनपद प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरी पोखराका विभिन्न संवेदनशील क्षेत्रमा यस्तो जाँच भइरहेको छ । यस्तो चेकजाँच देशका विभिन्न स्थानमा शुरु हुन थालेका छन्।

३. अग्रिम टिकट बुकिङ शुरु

चाडपर्व नजिकिएपनि अग्रिम टिकट बुकिङ नखुल्दा देखिएको अन्योलमा सरकारी समन्वयपश्वात यातायात व्यवसायीले अग्रिम बुकिङ लिोन थालेका छन्। ढिला गरेर लिन थालिएको अग्रिम बुकिङमा नयाँ बसपार्कदेखि उपत्यका छाड्ने विभिन्न क्षेत्रमा यात्रुहरुले टिकट बुकिङ गर्न थालेका छन्। चाडपर्वको बेला भाडा महंगो हुनेदेखि ठगीका घटना समेत बढ्ने खतरा हुन्छ। कतिपय यात्रुले भाडा महंगो भएको गुनासो गरिरहेका छन्। सरकारले यसलाई कसरी सम्बोधन गर्छ भन्ने चासो देखिन्छ ।

४. एयर टिकटमा सहमति

सरकारी चासोपछि विभिन्न क्षेत्रको उडानमा आकासिएको हवाई टिकटलाई आधार मूल्यमा उपलब्ध गराउन एयरलाइन्स कम्पनीहरु तयार भएको बताइएको छ। तर, अधिकांश बुकिङ पहिले नै सकिएकाले अब समायोजन भएको भाडामा पहिले महंगोमा लिइएको टिकट के हन्छ भन्ने प्रश्न सर्वसाधारणले गरिरहेका छन्। तर, हवाई टिकटको मूल्य मागको आधारमा तय हुने भएकाले पहिले नै टिकट लिइसकेकाको हकमा धेरै केहि हुने सम्भावना नभएको बताइन्छ। तर, अहिले सस्तोमा टिकट उपलब्ध गराउने भनिएपनि अधिकांश क्षेत्रमा टिकट नपाइने खतरा बढेको स्थितिमा उडानहरु थप हुन्छन वा हुँदैनन भन्ने चासो देखिन्छ ।

चाडपर्व नजिकिएसंगै महंगी र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रचलन बढ्दो देखिन्छ। जसबाट सर्वसाधारण ठगीमा पर्ने र चर्को मूल्य तिर्नुपर्ने बाध्यतामा समेत फस्ने गरेको पाइन्छ ।

 यस्तोमा सरकारले बजार अनुगमनदेखि सुरक्षामा विशेष चासो राख्नुपर्ने हुन्छ। दशैंमा धेरैले आफ्नो बसोबास गरिरहेको क्षेत्र छाड्ने भएकाले चोरीका घटना समेत बढ्ने गरेका पाइन्छन्, यस्तोमा प्रहरीले विशेष योजना समेत बनाउने गथ्र्यो, यो पटक समेत प्रहरीले डिजिटल रुपमै चेतावनी, सावधानी र सचेतनाका काम थालिसकेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update