जाजरकोट । जाजरकोटको अति विकट मानिएको कुशे गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, समकोटमा छाँया नेपाल नामक संस्था र कुशे गाउँपालिकाको आर्थिक सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । भवन हस्तान्तरणपछि यस क्षेत्रको शिक्षामा सुधार आउने भन्दै विद्यार्थी, अभिभावक र शिक्षकहरू खुसी भएका छन् ।
२०१८ सालमा स्थापना भएको जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा राज्य सरकारको पहुँच टाढा रहेकाले पर्याप्त भवन, खेलमैदान र शौचालयको अभावै–अभावमा पठनपाठन सञ्चालन हुँदै आएको थियो । कक्षाकोठा कम हुँदा संयुक्त कक्षामा बसेर पढ्नुपर्ने बाध्यता थियो ।
बर्खाको समयमा पानी पर्दा र हावाहुरी चल्दा दिनमै विद्यालय बन्द गरेर घर फर्कनुपर्ने अवस्था थियो भने शौचालय नहुँदा खेतबारीमा जानुपर्ने बाध्यता थियो । अहिले छाँया नेपाल नामक संस्थाले सुविधासम्पन्न भवन निर्माण गरी टेबुल, बेन्च, डेस्क र शौचालय बनाइदिएपछि पढाइका साथै स्वास्थ्यमा पनि सुधार हुने भन्दै विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन् ।
सङ्घीयतापछि विभिन्न सङ्घ–संस्थाहरूले दुर्गम हिमाली तथा पहाडी जिल्लाहरूमा काम गर्दै आएका छन् । यसै क्रममा कुशे गाउँपालिका वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको अवस्थालाई मध्यनजर गर्दै छाँया नेपालको ७० लाख ६३ हजार १ सय ३८ रुपैयाँ र कुशे गाउँपालिकाको १९ लाख २८ हजार ५ सय रुपैयाँ गरी जम्मा ८९ लाख ९१ हजार ६ सय ३९ रुपैयाँको लागतमा ४ कोठे २ तले भवन ,विद्युत्सहित ,छात्र–छात्रा शौचालय र खेलमैदान निर्माण गरिएको छ ।
नयाँ भवन निर्माण भएसँगै विद्यालयमा अध्ययनरत ३ सय ५४ जना विद्यार्थीहरूले सहज रूपमा पठनपाठन गर्न पाउने र यसले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।
छाँया लिक्टेनस्टाइन र छाँया अस्ट्रियाको आर्थिक सहयोगमा छाँया नेपाल काठमाडौँले विभिन्न जिल्लाहरूमा शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ । विशेष गरी २०७२ सालको विनाशकारी भूकम्पले पु¥याएको क्षति र स्थानीय सरकार कुशे गाउँपालिकाको आग्रहलाई सम्बोधन गर्दै समकोटमा विद्यालय भवन, शौचालय र खेलमैदान निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छाँया नेपाल कर्णाली प्रदेशका प्रबन्धक मिन बहादुर रावलले जानकारी दिएका छन् ।


