News 24 Television
रुपन्देहीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, २४ सै घण्टा प्रहरी गस्ती

रुपन्देही । नजिकिँदै गरेका दशैँ, तिहार र छठ लगायत चाडपर्वहरुलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, कालोबजारी, सीमा अपराध तथा सवारी दुर्घटना न्यूनीकरण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन योजना कार्यान्वयनमा ल्याइएको हो । 

दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले विशेष सुरक्षा योजना लागू गरेको छ । पर्वका बेला हुन सक्ने चोरी, ठगी, कालोबजारी, दुर्घटना तथा आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लाभर १ हजार २१५ जना प्रहरी परिचालन गरिने भएको छ । 

रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीका अनुसार जिल्लामा उपलब्ध १ हजार १६५ प्रहरी जनशक्तिबाहेक थप ५० जना प्रदेश प्रहरी कार्यालयबाट माग गरी परिचालन गरिनेछ ।

सुरक्षा योजनाअन्तर्गत पूर्व–पश्चिम, सिद्धार्थ र हुलाकी राजमार्गका १० खण्डमा चौबीसै घण्टा क्रस पेट्रोलिङ तथा संयुक्त ट्राफिक चेकिङ गरिनेछ । भैरहवा र बुटवल बसपार्क, बेलहिया नाका, लुम्बिनी, कालिदह र गोलपार्कसहित नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । 

बढी भाडा असुली, टिकट ठगी र दुव्र्यवहार नियन्त्रणका लागि विशेष निगरानी हुनेछ । कालोबजारी, कृत्रिम अभाव र खाद्य मिसावट रोक्न संयुक्त बजार अनुगमन गरिनेछ भने प्रमुख बजार तथा संवेदनशील चोकमा सीसीटीभीमार्फत निगरानी बढाइनेछ । भारतसँग जोडिएको ७२.२ किलोमिटर खुला सीमाका बेलहियालगायत १७ मुख्य नाकामा चेकजाँच र संयुक्त गस्ती गरिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार कमाण्ड पोस्ट, पैदल तथा मोबाइल गस्ती, पिकेट ड्युटी र हतियारसहितको क्रस पेट्रोलिङलगायत १५ प्रकारका रणनीतिक ड्युटी सञ्चालन हुनेछन् ।

सामाजिक सञ्जालबाट अफवाह फैलाउने तथा धार्मिक गतिविधिका नाममा साम्प्रदायिक विवाद गराउनेमाथि साइबर निगरानी गरिनेछ । छठका बेला नदी तथा घाटमा दुर्घटना रोक्न गोताखोरसहितको टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ । 

घर छाडेर जाँदा प्रहरीलाई जानकारी दिन, जुवातास र अवैध मदिराबाट टाढा रहन तथा शंकास्पद गतिविधि देखिए तत्काल खबर गर्न प्रहरीले नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update