काठमाडौं । ३० वर्षीय युवा इनम सापकोटाको कनेक्सन चर्चाको विषय बनेको छ। इनम उच्च व्यक्तिसंगको सम्पर्कका कारणमात्रै चर्चामा छैनन्, उनले अदालतदेखि राजनीतिक दलका नेताहरुलाई समेत जोडाउने काम गरेको आरोप छ। प्रहरी हिरासतमा रहेका इनमबारे विभिन्न तथ्य खुल्दै जाँदा उनको कनेक्सनमा को–को देखिए ?
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासंगको सम्पर्कको भेद खुल्दा पक्राउ परेका इनम सापकोटाको सम्पर्क र कनेक्सन रोचक मोडमा देखिएको छ। उनले नेपाली कांग्रेसका शीर्ष नेतादेखि व्यवसायी, पूर्वन्यायाधीशदेखि सुरक्षा निकायका माथिल्ला अधिकारीसंग समेत फोन सम्पर्क गर्ने, सरुवा बढुवा मिलाउने गरेको आरोप छ ।
– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, पूर्वन्यायाधीश नवराज थपलिया, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका भाई प्रभुशमशेर जबरासहिका अदालतका विचाौलिया भनेर चिनिने दीपक तिमिल्सिनासंग समेत उनको सम्पर्क, सम्वाद हुने गरेको सुरक्षा निकायको दाबी छ ।
– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री दीपक खड्का र उमेश श्रेष्ठसंग समेत इनमको सम्पर्क हुने गरेको बताइन्छ ।
– योभन्दा डरलाग्दो विषय इनमको सम्पर्क जेलमा रहेका दीपक भट्टसंग हुने गरेको देखिन्छ भने दीपकसंग जोडिएका सुलभ अग्रवालसंग समेत उनको लामो सम्वाद र सम्पर्क भएको सुरक्षा निकायको दाबी छ भने सशस्त्रका एआइजी वंशीराज दाहाल यहि कारण बर्खास्तीमै परिसकेका छन्। वंशीराजले इनमलाई प्रधानमन्त्री वालेन्द्र शाह बालुवाटार र सिंहदरबारबाट बाहिरिएको, भित्रिएको सूचना समेत दिने गरेको बताइन्छ। यहि कारण पनि इनमको सम्पर्कको जालोबारे प्रहरीले अझैं अनुसन्धानलाई विस्तृत र गहन बनाउदै लगेको बताइन्छ ।
थपलिया र जबराको साउती
पूर्वन्यायाधीश नवराज थपलियाले पदीय आचरणविपरित काम गरेको भन्दै सर्वोच्चका तत्कालीन न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले कारबाही सिफारिस गरेपछि उनी न्यायाधीश पदबाट बर्खास्तीमा परेका थिए ।
थपलियालाई १३ फागुन २०८० मा उनलाई न्यायपरिषद्ले पदमुक्त गरेको थियो । उनले झगडीयासंग सम्पर्कमा रहेर मुद्दाको फैसला नै उनीहरुको पक्षमा गरेको आरोप लागेपछिको अनुसन्धानले उनलाई दोषी ठहर गरेपछि स्थिति बिर्गिएको थियो। उनै थपलिया चोलेन्द्र शमशेर जबराका खास मान्छे थिए ।
उनको नियुक्तिमा समेत प्रश्न उठेका थिए भने न्यायाधीश पदमा रहँदा समेत चोलेन्द्रको पक्षमा काम गर्ने गरेको बताइन्थ्यो । यस्तोमा इनमको सम्पर्क चोलेन्द्र र नवराज दुबैसंग बराबर हुने गरेको बताइन्छ ।
इनम कसरी पुगे चोलेन्द्रको सम्पर्कमा ?
नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी उमेश श्रेष्ठले ललितपुरमा सञ्चालन गरेको लिटल एन्जेल्स (एल)मा पढ्दा चोलेन्द्रका छोरा सचिन्द्रशमशेर जबरासंग चिनजान भएको र त्यसपछि सम्पर्क भएको सुरक्षा निकायको दाबी छ। चोलेन्द्रका छोरा सिनियर भएपनि उनीहरुबीच एलएमै भएको चिनजानपछि नै परिचय, सम्पर्क र सम्बन्ध झाँगिएको देखिन्छ ।
सुरक्षा निकायमा धेरैसँग सम्पर्क
सुरक्षा निकायका धेरै अधिकारीहरुसंग समेत उनको सम्पर्क हुने गरेको बताइन्छ। उनले सरुवा बढुवादेखि धेरै विषयमा कुराकानी गर्ने गरेको बताइन्छ भने उनले नेपालमा हुने यस्ता सेटिङको रकम दुबईमा अपार्टमेन्ट खरिदका निम्ति प्रयोग गरेको हुनसक्ने समेत शंका गरिएको छ । उनी प्रायः विदेशमै बस्ने गरेको बताइन्छ भने उनी पक्राउ समेत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट परेका थिए। भारत जान लाग्दै गर्दा इनम पक्राउ परेका हुन् ।
सर्वोच्चले के भन्यो ?
इनम सापकोटाको थुनाविरुद्ध उनकी पत्नी कविता पाण्डेले १६ असोजमा थुनामुक्त गरिपाउँ भन्दै सर्वोच्चमा बन्दीप्रत्येक्षीकरणको मुद्दा दर्ता गरिन्। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रयास फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमे थुनामा राख्ने निर्णय वैध भन्दै उनको निवेदन नै खारेज गरिदिएको छ ।


