काठमाडौं । छिल्लो समय नेपालमा प्राकृतिक विपत्तीका घटना बढ्न थालेका छन् । रसुवाको भोटेकाशी बाढीले सयौँ हजारौँ नागरिक बेपत्ता हुँदा हजारौँ नागरिक विस्थापित छन् ।
विस्थापितको ब्यवस्थापन समेत नुहुनै आइतबार गोरखाको बूढीगण्डकीले अर्को विपद् निम्त्याएको छ । रसुवाको भोटेकोसी विनासकारी बाढी सम्झाउने गरी आइतबार विहान गोरखाको बूढीगण्डकीमा आएको बाढीले वितण्डा मच्चायो ।
बिहानै करिब ५ः५५ बजेको समयमा गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पा र चुम्लिङको बीचमा सुक्खा पहिरो खसेर थुनिएको गण्डकी फुटेर भीषण बाढीको रुप लिएको हो । बाढीमा परि चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित चुन्तेत घर भएका ५ जना सम्पर्क विहीन भएका छन् ।
भेडी गोठमा बस्दै आएका ५ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरू सिरिङ्गे हिमालको फेदीमा रहेको भेडी गोठमा बस्दै आएका थिए । भेडीगोठबाट सम्पर्कविहीन हुनेहरूमा ६५ वर्षीय सोनाम लामा, ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पोमा दोर्जे लामा छन् ।
बाढी बुढी गण्डकी तटीय क्षेत्रका दर्जनौँ घर बगाएको छ । लेदोसहितको आकस्मिक आएको बाढीले तटीय क्षेत्रका नागरिकलाई धक्का दियो । बूढीगण्डकी बाढीले चुमनुब्री र धार्चे, सल्लेरी बजार, जगत बजार, न्याकचेत, माछिखोला र पायुन क्षेत्रका ३५ भन्दा बढी घर र गोठहरू क्षणभरमै बगायो ।
चुम्लिङ–सिर्दिबास जोड्ने झोलुङ्गे पुल, माछिखोला–केरौजा झोलुङ्गे पुल, सोतीस्थित फलामे पक्की पुलसहित ६ वटा पुलहरू बाढीले बगाएको छ । साथै, जलविद्युत र सञ्चारमा पनि बाढीले ठुलो क्षति पुर्याएको प्रारम्भिक रिपोर्ट आइरहेका छन् ।
प्रारम्भिक रिपार्टअनुसार ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र उपकरणमा ठूलो क्षति पुगेको छ । ५० वटा बिजुलीका पोल र २ वटा टेलिफोन टावर ढलेका छन् । बाढी पश्चात् नेपाली सेनाले ५० बढी नागरिकको सकुशल उद्धार गरेको जनाएको छ । नेपाल प्रहरी र शशस्त्र पहिरी पनि उद्धार तथा राहतमा जुटेका छन् ।
खतरा टरेको छैन !
बूढीगण्डकी नदीमा आएको बाढीको बहाव तत्काल घटेपनि अझै खतरा रहेको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले अझै पनि बर्षाको सम्भावना रहेको निष्कर्ष निकालेकोले सतर्क रहनुपर्ने हुन्छ ।
त्यतिमात्रै होइन, महाशाखाले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई बुधबार साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
नदीको बहाव घटेको देखिए पनि जोखिम कायम रहन सक्ने भएकाले पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ ।
तल्लो तटिय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन पनि सरकारी निकायले ताकेता गरेका छन् । अहिलेसम्म एकिन क्षेतीको यकिन विवरण सरकारी निकायले सार्वजनिक गरेका छैनन् । पूर्वसूचना कारण ठूलो मानवीय क्षती नभए पनि यो बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ ।


