पर्थ, अष्ट्रेलिया। नेपाली कला, संस्कृति र पहिचानको भव्य उत्सवका रूपमा आयोजित ‘नेपाल फेस्टिभल पर्थ २०२६’ हजारौँ दर्शकको उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ पश्चिमी अष्ट्रेलियाको आयोजनामा वेलिङ्गटन स्क्वायरमा सम्पन्न महोत्सवमा १० हजारभन्दा बढी दर्शक सहभागी भएको आयोजकले जनाएको छ।
नेपाली मौलिकता, सांस्कृतिक विविधता र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यसहित आयोजित महोत्सवमा नेपाली कला, संगीत, खानपान र परम्पराको आकर्षक संगम देखिएको थियो।
कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित गायक प्रमोद खरेल, गायिका रचना रिमाल तथा परम्परा ब्यान्डको ऊर्जावान प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो। सांगीतिक प्रस्तुतिसँगै नेपाली परम्परागत खानाका परिकार र बालबालिकाका लागि तयार गरिएको विशेष क्षेत्र महोत्सवका प्रमुख आकर्षण बने।
महोत्सवमा अष्ट्रेलियाका सरकारी अधिकारी, मन्त्री, सां
सद तथा विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधि र अगुवाहरूको समेत उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थिति, सांस्कृतिक पहिचान र आपसी सद्भावलाई उजागर गरेको यस महोत्सवले नेपाली कला तथा संस्कृतिलाई विश्वमाझ चिनाउने अभियानमा थप ऊर्जा दिएको आयोजकको भनाइ छ। १० हजारभन्दा बढी दर्शकको सहभागिताले नेपाली संस्कृति र संगीतप्रति प्रवासी नेपाली समुदाय तथा अन्य दर्शकको आकर्षणसमेत झल्काएको छ।


