News 24 Television
भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

काठमाडौं । यतिबेला नेपालीहरुको महान चाड बडादशैं नजिकिएको छ । दशैं नजिकिँदै गर्दा टाढा टाढाबाट घर फर्किहरुको लर्को लागेको छ । तर रसुवाको भोटेकोशीमा बाढी आएको झण्डै २ महिना पुग्न लाग्दा पनि प्रभावित परिवारहरुको भने अझै ब्यवस्थापन हुन सकेको छैन । बाढीबाट प्रभावित हजारौं नागरिक अझै पनि होल्डिङ सेन्टरमै रात विताइरहेका छन् । 

नेपालीहरुको महान चाड बडादशेैं नजिकिएको छ । दशैं नजिकिँदै गर्दा टाढा टाढाबाट घर फर्किने क्रम शुरु भइसकेको छ ।

नागरिकमा दशैंको चहल पहल बढ्दै गर्दा रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको भने उस्तै विचल्ली छ । बाढी आएको झण्डै दुई महिना पुग्न लाग्दा समेत सरकारले प्रभावितहरुको ब्यवस्थापन गर्न सकेको छैन । ब्यवसस्थापन हुन नसक्दा दशैंको हजारौं प्रभावितहरु होल्डिङ सेन्टरमा बस्नुपर्ने बाध्यतामा रहेका छन् । 

मंगलवार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले भोटेकोशी बाढीबाट प्रभािवत १ हजार ५० जना अझै होल्डिङ सेन्टरमै रहेको जानकारी दिए । 

रसुवा बाढी प्रभावितको ब्यवस्थापन गरि नसक्दै असोज २५ गते पुनः बुढी गण्डकीमा आएको बाढीले अर्को विपद् निम्त्यायो । बुढीगण्डकी नदीमा आएको बाढीपछिको उद्धार कार्य अझै जारी छ ।

बाढी प्रभावितहरुको लागि सरकारले राहतको घोषणा गरे पनि अझैसम्म न्यूनतम राहतसमेत पाएका छैनन् । बाढीमा मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत दिने व्यवस्था कार्यान्वयनको चरणमा रहेको गृहसचिव शर्माको भनाई छ । 

बेपत्ता नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । 

बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुने प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताए । विपद् ऐन संशोधन गरी बेपत्ता नागरिकलाई ४५ दिनपछि मृत घोषणा गर्न सकिने व्यवस्था गरिएको उनको भनाई छ । 

९९ प्रतिशत विद्युत सेवा सुचारु 

भोटेकोशीको विनाशकारी बाढीले त्यस क्षेत्रको विद्युतीय सेवासमेत प्रभावित भएको थियो । प्रभावित भएको विद्युत सेवा अझै पनि पूर्ण रुपमा सूचारु हुन सकेका छैनन् । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ९९ प्रतिशत स्थानमा विद्युत सेवा सुचारु भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । 

अस्थायी आवास हस्तान्तरण 

रसुवा बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङ र तनहुँ जिल्ला समेत प्रभावित भएको छ । प्रभािवतहरुका लागि भन्दै नेपाली कम्युनिस्ट पार्टी नेकपाका वासीएलको पहलमा नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि २१ वटा अस्थायी आवास निर्माण गरिएका छन् । 

निर्माण गरिएका अस्थायी आवास दुई कोठा र शौचालयसहितका छन् । बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई मंगलबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले अस्थायी आवासहरुका चावी हस्तान्तरण गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update