News 24 Television
शिलाक्ष्य गृह निर्माण र फोरफ्रन्ट इन्जिनियरिङबीच सहकार्य

काठमाडौं । नेपालको निर्माण क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री, दिगो तथा उत्थानशील बनाउन शिलाक्ष्य गृह निर्माण प्रा.लि. र फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि.बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। यस सहकार्यअन्तर्गत डिजिटल इन्जिनियरिङ, नवीन प्रविधि, अनुसन्धान तथा दिगो निर्माण अभ्यासको प्रवर्द्धन गरिनेछ। निर्माण क्षेत्रमा प्रविधि, नवप्रवर्तन र ज्ञान आदानप्रदानमार्फत सकारात्मक परिवर्तन ल्याउने साझा उद्देश्यसहित दुई नेपाली कम्पनीबीच यो सहकार्य अघि बढाइएको हो।

समझदारीपत्रमा शिलाक्ष्य गृह निर्माणका तर्फबाट आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका तर्फबाट महेश कार्की र सुधीर थापाको सहभागिता रहेको थियो।

यस सहकार्यअन्तर्गत डिजिटल पूर्वाधार संरचना तथा सूचना प्रणाली (BIM), भर्चुअल रियालिटी (VR), डिजिटल ट्विन, LiDAR स्क्यानिङ तथा अन्य नवीन प्रविधिको व्यावहारिक प्रयोगलाई प्रवर्द्धन गरिनेछ। यी प्रविधिले निर्माण परियोजनाको डिजाइन समन्वय, त्रुटि पहिचान, परियोजनाको भर्चुअल दृश्यांकन, स्थलको डिजिटल अभिलेखीकरण, परिमाण गणना तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउन सक्छन्। सहकार्यमा Scan-to-BIM, वास्तविक स्थलको डिजिटल अभिलेखीकरण (Reality Capture), कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित उपकरण तथा अन्य डिजिटल इन्जिनियरिङ समाधानको प्रयोग र सम्भावनाबारे समेत काम गरिनेछ।

शिलाक्ष्य गृह निर्माणको निर्माणसम्बन्धी अनुभव र फोरफ्रन्ट इन्जिनियरिङको डिजिटल इन्जिनियरिङ विशेषज्ञतालाई एकीकृत गर्दै निर्माणको गुणस्तर, कार्यदक्षता, स्रोतको प्रभावकारी उपयोग तथा समन्वयमा सुधार ल्याउने लक्ष्य राखिएको छ।

शिलाक्ष्य गृह निर्माण प्रा.लि. नेपालमा आधारित निर्माण कम्पनी हो, जसले गुणस्तरमा केन्द्रित निर्माण समाधान तथा भरपर्दो भौतिक संरचना विकासमा जोड दिँदै आएको छ।

फोरफ्रन्ट इन्जिनियरिङ प्रा.लि. इन्जिनियरिङ तथा प्रविधि कम्पनी हो। कम्पनीले BIM, डिजिटल इन्जिनियरिङ तथा प्रविधिमा आधारित निर्माण समाधानमा विशेषज्ञता राख्दै आधुनिक इन्जिनियरिङ कार्यप्रणाली, नवीन प्रविधि र प्राविधिक क्षमता विकासमार्फत डिजिटल रूपान्तरणलाई सहयोग पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update