News 24 Television
विरोधका लागि विरोध गर्दैनौँ, गलत भए खबरदारी गर्छौँ : नगर सभापति बिशु थापा

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर, सूर्यविनायक नगर समितिको सभापतिमा निर्वाचित बिशु थापाले पार्टीलाई एकताबद्ध गर्दै जनताका मुद्दामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। दोस्रो जनआन्दोलनदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आन्दोलनका क्रममा गम्भीर घाइते समेत हुनुभएका थापाले लामो समयदेखि सामाजिक तथा प्राविधिक क्षेत्रमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।

सूर्यविनायक नगरपालिकामा कांग्रेसको संगठनात्मक अवस्था बलियो भए पनि गत स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा जित्न नसकेको अवस्थालाई गम्भीरतापूर्वक समीक्षा गर्दै उहाँले अग्रजको अनुभव र युवाको ऊर्जालाई सँगै लैजाने योजना बनाउनुभएको छ। नगरपालिकामा प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले विकास निर्माणका राम्रा काममा समर्थन गर्ने र पक्षपात तथा अनियमितता देखिएमा तर्क र तथ्यका आधारमा कडा खबरदारी गर्ने उहाँको प्रस्ट धारणा छ।

फोहोरमैला व्यवस्थापन, अव्यवस्थित सहरीकरण, खानेपानीको अभाव, सडकको गुणस्तर र जग्गा प्लटिङजस्ता नगरका प्रमुख समस्या समाधानका लागि स्थानीय सरकारलाई जवाफदेही बनाउन निरन्तर पहल गर्ने कांग्रेसले जनाएको छ। साथै, आगामी २०८४ को निर्वाचनलाई मध्यनजर गर्दै वडादेखि टोलसम्म संगठन विस्तार गर्ने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने र पार्टीलाई जनताको विश्वासको केन्द्र बनाउने उहाँको मुख्य प्राथमिकता रहेको छ।

युवा तथा महिला सहभागितालाई केवल औपचारिकतात सीमित नराखी निर्णय प्रक्रिया र नेतृत्व तहमा नै अर्थपूर्ण अवसर दिने उहाँको योजना छ। केन्द्र र जिल्ला कार्यसमितिसँगको सुदृढ समन्वयमा पार्टीलाई अगाडि बढਾउने बताउँदै उहाँले युवाहरूको नयाँ सोच, क्षमता र इमानदारीलाई संगठनको बलियो आधार बनाउने दृढता व्यक्त गर्नुभएको छ।

देशको समसामयिक राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीबारे बोल्दै उहाँले सरकारको मूल्यांकन भाषण वा घोषणाबाट नभई जनताको जीवनमा ल्याएको वास्तविक परिवर्तन र सुशासनको अनुभूतिका आधारमा हुनुपर्नेमा जोड दिनुभएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update