
- बालविक्रम कार्की
रौतहट । चन्द्रपुर नगरपालिका रौतहट जिल्लाकै तीब्र सहरीकरण उन्मुख पालिका हो । वि.संं. २०७८ को जनगणना अनुसार यस पालिकामा ८१ हजार ८०७ जनसंख्या र १६ हजार ८२० घरधुरी रहेका छन् । बढ्दो जनसंख्या र घरधुरीबाट निस्किएका फोहोरहरुको व्यवस्थापन नगरपालिकाको लागि ठुलो चुनौतिको रुपमा देखा परिरहेको छ । नगर क्षेत्रबाट निस्किएका फोहोर वन क्षेत्रमा जथाभावी फ्याँकिएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रबाट दैनिक सरदर २ देखि ३ ट्रिपर फोहोर संकलन गर्ने गरेको छ भने केही ट्रयाक्टरहरुमा पनि गाम्रीण इलाकाबाट फोहोर संकलन हुँदै आइरहेको छ । संकलित फोहोर पूर्वपश्चिम राजमार्गको वन क्षेत्रमा जथाभावी विसर्जन गर्ने गरिएको छ । चन्द्रपुर नगरपालिकाका फोहोरले गर्दा वन क्षेत्र डम्पिङ्ग साइटमा परिणत हुँदै गइरहेको छ । यसरी वन क्षेत्रमा जथाभावी फोहोर फ्याँक्नाले वन्यजन्तु तथा वनस्पतिमा नकारात्मक असरहरु देखिन जानकारहरु बताउँछन् ।
यसरी राजमार्ग छेउमा जथाभावी फालिएको फोहोरको दुर्गन्धले स्थानीयलाई मात्र नभएर यात्रुहरुलाई पनि असर पार्ने गरेको छ । अझ अस्पताल एवम् मेडिकलहरुबाट निस्किएका फोहोर, औषधि, सुई , प्याड, स्लाइनका बोतल, अप्रेसन गर्दा प्रयोग गरिएका औजार एवम् सामाग्रीहरुले वातावरणमा नकारात्मक असर पार्नुका साथै संक्रमणको जोखिम पनि उच्च बनाएको छ । वन क्षेत्रमा फोहोर फाल्न नहुने भन्दै चन्द्रपुर नगरपालिकालाई पटक पटक आग्रह गरे पनि कुनै सुनुवाइ नभएको सामुदायिक वनका पदाधिकारीहरुको गुनासो छ ।
फोहोर फ्याक्ने गरिएका वन क्षेत्रमा हाती, गैँडा, बाघ, हरिण, बदेँल, निलगाई , खरायो , बाँदर लगायतका जंगली जनावरहरु तथा विभिन्न प्रजातिका चराहरुको वसोबास रहेको छ । तर वन क्षेत्र फोहोर फ्याक्ने डम्पिङ्ग साइटमा परिणत हुँदा उनीहरुको स्वास्थ्यमा समस्या देखा परेर अस्तित्व नै संकट आउने जोखिम उच्च हुँदै गएको वन कार्यालयको भनाइ छ । यता चन्द्रपुर नगरपालिका भने आफुहरुले फोहोर बिर्सजनको दीर्घकालिन समाधानको निम्ति स्थायी ल्याण्डफिल्ड साइट तथा फोहोर प्रशोधन केन्द्र चाँडै निमार्ण गर्ने तयारी गरेको बताउँदै आएको छ ।
चन्द्रपुर नगरपालिकालाई फोहोर व्यवस्थापनको लागि नेपाल सरकारबाट वर्सेनि १ करोड वजेट आउने भए पनि त्यसको उचित प्रयोग हुन नसक्दा फ्रिज भएर जाने गरेको छ । नगरपालिकाले फोहोरलाई वर्गीकरण तथा प्रसोधन गरेर पुनः प्रयोगमा ल्याउने सके मोहोरमा परिणत गर्न सकिन्छ ।