
काठमाडौँ । नेपालको राजनीतिमा उदाएका केही यस्ता पात्रहरु छन्, जो पटक पटक उपप्रधानमन्त्रीदेखि १५ पटकसम्म मन्त्री भएका छन् । विभिन्न राजनीतिक दलदेखि पार्टी भित्रकै गुट बदलेर पनि केहीले सत्ताको स्वाद चाखिरहेका छन् भने कोही जनताबाट पराजित भएर पनि कानूनका विभिन्न छिद्रहरुबाट सत्तामा रमाइरहेका छन् । को छन् त्यस्ता सौभाग्यशाली नेताहरु जो जताबाट पनि घुमिफिरी सत्तामा पुग्ने गरेका छन् ।
नेपालको राजनीतिमा छोटो समयमा क्षेत्रीय राजनीतिबाट उदाएका नेता हुन्, उपेन्द्र यादव । २०६२/६३ को जनआन्दोलनपछि पहिलो संविधानसभाको समयमा मधेसी जनाधिकार फोरमबाट उदाएका उदाएका उनी मधेस राजनीतिबाट केन्द्रीय सत्ता राजनीतिमा प्रवेश गरे ।
कस्तो छ, उपेन्द्रको सत्ता यात्रा ?
– २०६५ साल साउनमा पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री हुँदै सत्ता यात्रा शुरु ।
– २०६८ वैशाख २१ गतेदेखि भदौ २ गतेसम्म झलनाथ खनाल प्रधानमन्त्री हुँदा मधेसी जनाधिकार फोरमबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री ।
– २०७५ जेठ १८ गतेदेखि २०७८ जेठ २१ सम्म केपी शर्मा ओली प्रधानमन्त्री हुँदा समाजवादी पार्टी, नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री ।
– २०७६ मंसिर ५ देखि २०७६ पुस ८ सम्म केपी ओलीकै कार्यकालमा समाजवादी पार्टीबाटै उपप्रधानसहित कानून न्याय तथा संसदीय मामिला मन्त्री ।
– २०८० फाल्गुन २७ गतेदेखि वर्तमान सरकारमा जनता समाजवादी पार्टीबाट उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री ।
उपेन्द्रजस्तै अर्का भाग्यशाली नेता हुन्, नारायणकाजी श्रेष्ठ । २०६५ सालमा तत्कालिन नेकपा माओवादीसँग पार्टी एकता गर्दै पुष्पकमल दाहाल नेतृत्वको पार्टीमा समाहित भएयता उनको सत्ता यात्रा पनि पछाडि फर्किनु परेको छैन । ६४ सालमा निर्वाचनमै भाग नलिएपछि २६ जनाको कोटाबाट संविधानसभा सदस्य भएभने ७० सालको दोस्रो संविधानसभा तथा ७४ सालको आम निर्वाचनमा जनताबाट पराजित भएर पनि राष्ट्रियसभामा चुनिएर सत्ताकै फेरो समाइरहेका छन् ।
यस्तो छ, नारायणकाजीको सत्तायात्रा
– २०६८ साउन १६ देखि झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री ।
– २०६८ भदौ १८ गतेदेखि २०७९ चैत १ सम्म बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपप्रधानसहित परराष्ट्रमन्त्री ।
– २०६४ सालको पहिलो संविधासभा निर्वाचनमा भाग नलिए पनि २६ जनाको कोटाबाट संविधानसभा सदस्य चयन ।
– २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर ४ बाट पराजित तथा २०७४ को आम निर्वाचनमा गोरखाबाट बाबुराम भट्टराईसँग पराजित भएर पनि राष्ट्रियसभामा निर्वाचित ।
– २०७९ पुस ११ गतेदेखि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री ।
– २०७९ माघदेखि २०८० फागुन २१ सम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृहमन्त्री ।
– २०८० फागुन २१ देखि प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री ।
मधेसका सम्पन्नशाली नेता रघुबीर महासेठ पनि नेपाली राजनीतिका भाग्यभानी नेता ठहरिएका छन् । पार्टीलाई आर्थिक सहयोग गरेर होस् वा पार्टी भित्रकै गुट परिवर्तन गरेर होस्, श्रीमान श्रीमति आलोपालो मन्त्री बन्ने अवसर पाउने भाग्यमानी नेता हुन्, रघुवीर । भनिन्छ, ईश्वर दाहिना भए, कसको के लाग्छ र ? नभन्दै एमाले अध्यक्ष ओली दाहिना हुँदा रघुवीरले पटक पटक सत्ताको स्वाद चाख्न पाइरहेका छन् ।
रघुवीर महासेठको सत्तायात्रा
– २०७४ फागुनमा केपी शर्मा ओलीको कार्यकालमा एमालेबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री ।
– २०७८ जेठ २१ देखि २०७८ असार ८ सम्म केपी शर्मा ओलीको कार्यकालमा एमालेबाटै उपप्रधानसहित परराष्ट्रमन्त्री ।
– २०८० फागुन २१ गतेदेखि पुष्पकमल दाहाल नेतृत्वको तेस्रो कार्यकालको सरकारमा पहिलो बरियताको उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री ।
मधेसको क्षेत्रीय राजनीतिबाट उदाएका अन्य थुप्रै नेताहरुले पनि घुमिफिरी सत्ताको स्वाद चाख्ने गरेका छन् । कांग्रेस राजनीतिबाट मधेसको राजनीति हुँदै फेरि कांग्रेसमा कांग्रेसमा फर्किएका विजयकुमार गच्छदार, मधेसकै विभिन्न नामका पार्टी हुँदै फेरि मुक्ति क्रान्ति घोषणा गरेका राजेन्द्र महतो, मधेसकै विभिन्न पार्टी अदलबदल गर्दै अहिले लोसपामा रहेका शरतसिंह भण्डारी लगायतका नेताहरुको पनि सत्तायात्रा विचित्रको छ ।
गिरिजाप्रसाद कोइरालाको पालादेखि उपप्रधानसहित राजेन्द्र महतो ५ पटक मन्त्री भइसकेका छन् भने शरतसिंह भण्डारी २०६५ साल यता पटक पटक गरी १५ पटक सम्म सरकारमा सहभागी भइसकेका छन् । सत्ता राजनीतिकका खेलाडी सरतसिंह मात्र होइन, अहिले त उनका ज्वाई विराजभक्त श्रेष्ठसमेत राष्ट्रिय स्वतन्त्र पार्टीबाट सत्तायात्रा थालिसकेका छन् ।