
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेक दिईरहेका एमालेका दोस्रो तहका नेताहरु आगामी दिनमा कसरी अगाडि बढ्छन् भन्ने चासोको बिषय छ ।
जेनजी आन्दोलनपछि बसेको एमाले केन्द्रीय समिति बैठकमा एमालेका दोस्रो तहका मानिएका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व छाड्नु पर्ने र पार्टी पुर्नगठन आजाको आवश्यकता भएको बताएका थिए । तर उनीहरुको आवाज औचित्यहिन रह्यो । अब एमालेका दोस्रो तहका नेताहरु आगामी दिनका कसरी अगाडी बढ्छन् चासोको बिषय बनेको छ ।
जेनजी आन्दोलन लगत्तै एमालेका दोस्रो तहका नेताहरुले जेनजीको एजेण्डामा समर्थन गर्दै पार्टीको नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको मुद्धामा एमाले अगाडी बढ्ने प्रतिक्रिया दिएका थिए ।
पार्टी महासचिव शंकर पाखरेल र उपमहासचिव प्रदिप ज्ञावली बाहेकका पार्टीका उपाध्यक्षदेखि पदाधिकारी र सचिवालयका नेताहरुले एमाले आगामी दिनमा पुर्नगठन भएर अगाडी बढ्ने प्रतिक्रिया दिएका थिए । उनीहरुले आगामी दिनमा जेनजीको माग अनुसार एमालेमा पनि नेतृत्व परिर्वतन हुने र पार्टी पुर्नगठन गरेर अगाडी बढ्ने बताएका थिए ।
पार्टी भित्र नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको मुद्धा सचिवालय बैठकसम्म चर्काे स्वर गुञ्जिएको थियो । केन्द्रीय समितिको बैठक बस्नु अगाडी पटक पटक ओली निवाश गुण्डुमा बसेको सचिवालय बैठकमा ओलीले नेतृत्व छाड्नु पर्ने र पार्टी पुर्नगठन गरेर अगाडी बढ्नु पर्ने भन्दै सचिवालयका अधिकांश नेताहरुले बताएका थिए ।
जेनजी आन्दोलनअघि पार्टीमा आक्रामक बन्ने गरेका ओली त्यतिबेला रक्षात्मक देखिएका थिए । तर केन्द्रिय समितिको बैठकमा भने उस्तै आक्रमक रुपमा प्रस्तुत भए । पार्टी नेतृत्वको राजीनामा मात्र होइन, सचिवालयकै राजीनामा माग्ने रणनीति ओलीले बताए । जसले गर्दा ओलिको राजीनामा माग्ने सचिवालयका नेताहरुसमेत केन्द्रिय समिति बैठकमा रक्षात्मक बन्न पुगे ।
जेनजी आन्दोलनको राप ताप रहेकै बेलामा एमालेमा नेतृत्व परिर्वतनको मुद्धा चर्काे बन्दै गएको थियो । तर आन्दोलनपछि जेनजीका नेताहरु कमजोर बन्दै गएपछि एमालेमा पनि दोस्रो तहका नेताहरु कमजोर बन्दै गएका छन् । यसले आगामी दिनमा पनि एमालेमा ओली पक्ष नै बलियो बन्न सक्ने बिश्लेषण हुन थालेको छ ।
ओलीलाई युवा संघ र अखिलको साथ
एमालेको केन्द्रीय समितिमा युवा पुस्ताको नेतृत्व गर्ने नेताहरु कम छन् । पार्टी भित्र युवा पुस्ताको नेतृत्व गर्ने केन्द्रिय सदस्यहरुले बैठकमा समेत ओलीको बिकल्प खोज्नु पर्ने बताई रहेका थिए । एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल विद्यार्थी संगठन युवा नेताहरुको कारखनाको रुपमा लिइन्छ ।
पार्टी भित्रका केन्द्रीय समिति बैठकमा ओलीको बिकल्प खोज्नु पर्ने बताएका नेताहरुलाई यी दुई संगठनको साथ हुनु पर्ने जरुरी थियो । तर अहिले ‘केपी ओली– आइ लभ यू’ भन्दै यी दुवै संगठनका नेताहरु लागि परेर हिडेका छन् । यसले पार्टी भित्र नेतृत्व परिर्वतनको कुरा उठाउने युवा नेताहरु अगामी दिनमा युवा नेता उत्पादन गर्ने कारखानाबाटै शिकार हुने त होइनन् भन्ने चर्चा पार्टीभित्रै हुन थालेको छ ।
राष्ट्रिय युवा संघमा महेश बस्नेत नै हावी हुँदा नेतृत्वको विकल्प खोजेका युवाहरु नै भागाभाग हुने अवस्था छ । अनेरास्ववियुका सुजन कडरिया जेनजी आन्दोलनकाबीच संगठनबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट घोषणा गरेका थिए । तर उनले जीवन रक्षाका लागि यस्तो घोषणा गरेको भन्दै राजीनामा फिर्ता लिएको बताएका थिए । यहि कारण कडरीयालाई हटाएर महासचिव दिपक धामीलाई नेतृत्व दिने गरी अखिलको बिशेष महाधिवेशन गर्ने तयारी एउटा समूहले गरेको छ ।
कडरियालाई जेनजी भए पनि भगौडा भनेर ओली नै अभिब्यक्ति दिँदै हिँडेका छन् । कडरीयालाई निर्वाचन जिताउन ओलीले सत्तादेखि पार्टीको बाहुबल प्रयोग गरेका थिए । अब एमालेका युवा विद्यार्थीहरु कसरी अघि बढ्छन्, एमाले भित्रै चासोको विषय बनेको छ ।