News 24 Television
देशभर भर्ना अभियना सुरु, भद्रगोल शिक्षा क्षेत्र

काठमाडौँ । सरकारले आज (आइतबार)देखि देशभर भर्ना अभियान कार्यक्रम सुरु गर्दै छ । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ देशभर नै भर्ना अभियान सुरु हुन लागेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको शिक्षा बिकास तथा मानव स्रोत केन्द्रले अभियान १९ बर्षदेखि सञ्चालन गर्दै आएको छ । तर ५ देखि ९ बर्ष उमेर समूहका करिव ४ लाख वालवालिका अझै बिद्यालय बाहिर रहेको सरकारी तथ्याक छ । 

नेपालको संविधानले आधारभुत तहसम्म अनिवार्य र माध्यामिक तह निःशुल्क पढ्न पाउने व्यवस्था गरे पनि अझै धेरै बालबालिका विद्यालय पहुँच भन्दा बाहिर छन् । विद्यालयको पहुँचमा ल्याउन प्रत्येक बर्ष भर्ना अभियान सुरु हुन्छ । तर ५ देखि ९ बर्ष उमेर समुहका ३ लाख ९० हजार वालवालिका विद्यालय बाहिर छन । विद्यालय जाने उमेर समूहका ५ प्रतिशत वालवालिका विद्यालय बाहिर रहेको सरकारी तथ्याङ्क छ । शिक्षा बिकास तथा मानव स्रोत केन्द्रको फ्ल्यास रिपोर्टका अनुसार पूर्वप्राथमिक तहको कूल भर्ना दर ९४.९ प्रतिशत मात्र छ । १९ बर्षदेखि भर्ना अभियान सुरु भए पनि ४ लाख बालबालिकालाई विद्यालय ल्याउन शिक्षा मन्त्रालयले पहल गर्न सकेको छैन । 

यो वर्ष कक्षा १ मा भर्ना हुन योग्य ५ वर्ष उमेर पुगेका ५ लाखभन्दा बढी बालबालिका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार यस बर्ष ३ लाख ३६ हजार शहरी क्षेत्रका बालबालिका छन् भने १ लाख ९४ हजार ग्रामिण क्षेत्रका बालबालिका छन् । ५ बर्ष उमेर पुग्ने सबै भन्दा बढी बालवालिका मधेस प्रदेशमा छन । मधेस प्रदेशमा १ लाख ४९ हजार बालबालिका विद्यालय जान योग्य छन् । 

सबै भन्दा कम कर्णाली प्रदेशमा ३५ हजार ८ सय यस बर्ष विद्यालय जान योग्य छन् । यी बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालयमा ल्याउने दायित्व शिक्षा मन्त्रालय, स्थानीय सरकार, अभिभावक र सरोकारवालाको हो । 

सरकारले हरेका वर्ष बैशाख २ गतेदेखि १५ दिनसम्म भर्ना अभियान सञ्चालन गर्छ । सरकारी तथ्याङ्क अनुसार ५ देखि ९ वर्ष उमेर समूहका ३ लाख ३० हजार बालबालिकालाई विद्यालय हाता भित्र ल्याउन अझै पनि चुनौती छ । 

मधेस प्रदेशका धेरै बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा मानव स्रोत केन्द्रले जनाएको छ । मधेसमा मुसहर, दास, चमार र खतवे समूदायका धेरै बालबालिका विद्यालय बाहिर रहेको केन्द्रले जनाएको छ । 

स्थानिय सरकारले अभिभावक सचेतना र घरदैलो कार्यक्रम सञ्चालन भए तापनि भर्ना अभियान सफल हुन सकेको छैन् । 

भद्रगोल शिक्षा क्षेत्र

बैशाख २ गतेदेखि राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन गर्ने विषयमा सबै विद्यालयमा एकरुपता भने ल्याउन सकिएको छैन् । निजी शैक्षिक संस्थाहरुले भर्ना अभियान नै रोकिसकेका छन् । विद्यार्थी भर्नामै तामझाम गर्नेदेखि महङ्गो शुल्क अशुल्ने निजी विद्यालयहरुले नयाँ भर्ना नै नलिने गरि अघि बढिसकेका छन् । यस्तोमा अभिभावक समेत अलमलिने गरेको पाइन्छ । 

सरकारले सामूदायिक तथा सरकारी विद्यालयमा भर्ना अभियान सञ्चालन गर्नेबेलासम्म निजीले भर्ना कार्यक्रम नै बन्द गर्ने कारण पनि आम रुपमै शैक्षिक संस्थामाथिको बुझाई केहि फरक पाइन्छ । दुई खाले शिक्षा प्रणालीलाई राज्यले एकरुपता ल्याउन पहल गर्ने र भर्ना अभियानलाई समान रुपमै देशभर लागू गराउन नसकेमा बालबालिका, अभिभावक र सरोकारवालाको प्रयास सार्थक बन्ला ? प्रश्न उठिरहेको छ ।

भर्ना अभियान र अभिभावकत्व लिने विषय समेत केहि समय अघि चर्चामा थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केहि विद्यार्थीको अभिभावकत्व गरेका थिए । अहिले ती बालबालिका शैक्षिक गतिविधिमा संलग्न छन वा छैनन भन्ने नै टुंगो छैन् । यसरी भर्ना अभियानलाई कर्मकाण्डी मात्रै बनाउन खोज्दा समेत वालबालिका विद्यालयसम्म पुग्न नसकेको गुनासो सुनिने गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update