News 24 Television
सामाजिक संजाल प्रयोगकर्ताहरुको बहकाब, तथ्यहीन हात्तिको ‘भिडियो भाइरल’

काठमाडौं । कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीको विदाई भएलगत्तैबाट एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । त्यो भिडियो हो ट्रकमा हात्ति चढाइँदै गरेको । 

कतारी राष्ट्र प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएको अवसरमा सरकारले एक जोडी हात्ति उपहार दिने निर्णय गरेको थियो । 

यसको प्रतिबद्धता भने २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार जाँदा नै गरेकी थिइन् । सो बेला भण्डारीले दुई हात्ति उपहार दिने घोषणा गरेपनि ५ वर्षसम्म कतारले लान पाएको थिएन । तर यो पटक सरकारले कतारी राजा नेपाल भ्रमण गरेर फर्कँदा सँगै लैजाने गरि व्यवस्थापन गर्न लागेको थियो । 

सरकारले पनि यही योजना अनुसार तयारी थाल्योे । र, कतारलाई दिन चितवन राष्ट्रिय निकुञ्ज खोरसोरमा रहेको हात्ति प्रजनन केन्द्रमा जन्मिएका खगेन्द्र र रुद्रकली उपहारका लागि छानिए । तर कानूनी व्यवधान र प्राविधिक तयारी हुन नसक्दा राजा स्वदेश फर्किएपनि खगेन्द्र र रुद्रकली भने चितवनमै रहेका छन् । तर सामाजिक संजालमा भने खगेन्द्र र रुद्रकली कतार लान तयारी गरिएको भन्दै ट्रकमा  हालिदै गरेको अरुनै हात्तिको भिडियो भाइरल बनाइएको छ । 

सामाजिलक संजालमा यत्रतत्र शेयर भइरहेको उक्त भिडियोमा देखिएको हात्ति खगेन्द्र र रुद्रकली नभएको चितवन राष्ट्रिय निकुञ्जले प्रमाणित गरेको छ  । 

धेरैजसोले ट्रकमा राखिँदै गरेको उक्त भिडियो शेयर गर्दै वियोगान्त र भाबुक स्टाटस लेखेका छन् । कतिपयले सोही भिडियोमा नेपालले जनावरहरु विदेशमा उपहार दिन नहुनेसमेत तर्क गरेका छन् । 

त्यस्तै कतिले नेपाली युवाहरुको रोजगारीका लागि खाडी जानुपर्ने बाध्यतासँग पनि हात्तिलाई तुलना गरेका छन् । यद्यपि नेपाल सरकारले खगेन्द्र र रुद्रकलीलाई कतार पठाउने निर्णय गरेपनि हाल उनीहरुलाई पठाइसकिएको छैन । 

उक्त हात्तिहरु कानूनी र प्राविधिक कारणले नेपालमै छन् । हाल खगेन्द्र र रुद्रकली नेपालमै रहेको चितवन राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ । कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म दुवै हात्ती निकुञ्जमै रहनेछन् । 

सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालको नभएको समेत निकुञ्जले स्पष्ट पारेको हो । 
 
किन रोकिए खगेन्द्र र रुद्रकली ?

लोपन्मुख जनावर एक देशबाट अर्को देश लैजादा अन्तराष्ट्रिय कानून आकर्षित हुन्छ । कतार पठाउने भनिएका खगेन्द्र र रुद्रकलीलाई पनि यही कानूनले आकर्षित गरेको हो । 

आवश्यक कानूनी प्रकृया पुरा हुन नसक्दा कतारी राजा अमिरको नेपाल भ्रमणको बेला समेत उक्त हात्तिहरु पठाउन सकिएन । हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ । 

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण र नियमन गर्न तयार पारिएको अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ । त्यसैले साइटिसमा सूचीकृत वन्यजन्तु तथा वनस्पतिलाई एक देशबाट अर्को देशमा लैजान साइटिस सचिवालयको स्वीकृति चाहिन्छ । नेपाल दिन तयार भए पनि साइटिस सचिवालयबाट स्वीकृति नभएका कारण खगेन्द्र र रुद्रकली तत्काल कतार जानबाट रोकिएका हुन् ।  

बालेनको आक्रोश

सरकारले कतारलाई एक जोडी हात्ति दिने लगभग निश्चित भएपनि काठमाडौं महानगरका मेयर बालेन शाहले भने यसप्रति असन्तुष्टि पोखेका छन् । 

सामाजिक संजालमा स्टाटस लेख्दै मेयर बालेनले कानूनी प्रश्नसँगै मानव संवेदनाको प्रशंगसमेत उठाएका छन् । पशु उपहार दिनु वा बेच्नु कानूनी हो ? मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ? पशु अधिकार एउटा ठट्टा हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । तर नेपालले अहिलेसम्म विभिन्न देशहरुलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ । त्यस्तै १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिइसकेको छ । 

त्यस्तै नेपालले पनि विभिन्न मुलुकबाट जनावर नेपाल ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक भारत भ्रमण गर्दा भैँसी उपहार ल्याएका थिए ।  त्यस्तै केही वर्षअघि मात्रै नेपालले चीनलाई पनि दुई जोडी गैँडा उपहार दिएको थियो ।   हालसम्म नेपालले मित्र राष्ट्रहरुलाई उपहारका रुपमा सबैभन्दा धेरै २६ वटा गैंडा दिइएको छ । तर हात्ती भने उपहारको रुपमा कुनै पनि देशलाई दिइएको थिएन । 

नेपालले हात्ति दिने सरकारी स्तरबाटै निर्णय गरेपनि कतारले उक्त हात्तिहरु लगिसकेको छैन । कतारले दुई हात्तिहरु लैजाने भएपछि स्याहारका लागि सेवा सुविधा दिने सर्तसहित माहुते पनि पठाउन नेपाललाई आग्रह गरेको छ । कतार पठाइने हात्तिको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्वास्थ जाँच भने गरिसकिएको छ । तर नेपालले माहुते पठाउने वा नपठाउने भन्ने विषयमा निर्णय गरिसकेको छैन । यद्यपि सामाजिक संजालमा भने उक्त हात्ति बारे विभिन्न टिका टिप्पणीहरु भइरहेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update