News 24 Television
इलाममा जित्न कसलाई कसको कति खतरा ?

काठमाडौं । इलाम २ मा उपचुनावमार्फत जनताले आफ्नो प्रतिनिधि छान्दैछन् । मैदानमा भएका उम्मेदवारहरुमध्ये चर्चा भने चार जनाको मात्रै देखिन्छ । 

उनीहरुले प्रचार–प्रसारदेखि निर्वाचन केन्द्रित गतिविधिलाई तीब्र पार्ने र दलका शीर्ष नेताहरुले समेत जोडबल गरेकाले यो क्षेत्र चर्चा र चासोमा छ । 

चर्चामा रहेका चार उम्मेदवार र नतिजाको सम्भावना

१. डम्बर खड्का

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का गएको चुनावमा थोरै मतले पराजित उम्मेदवार हुन् । गठबन्धनसहित निर्वाचनमा गएको कांग्रेसले थोरै मतबाट पराजित भएको यथार्थलाई हेर्दै चुनावी मैदानमा छ, कांग्रेस । 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मादेखि थुप्रै नेताहरुले धाएको इलामको निर्वाचन क्षेत्र नम्बर २ को नतिजाको प्रमुख दाबेदार मध्येका एक खड्का पनि हुन् । 

कांग्रेसले चुनावी गठबन्धन नगर्ने राजनीतिक एजेण्डालाई डम्बर खड्काको उम्मेदवारी र निर्वाचन परिणामबाट समेत परिक्षण गर्न खोज्दैछ । यस्तोमा खड्का प्रमुख प्रतिष्पर्धी बनेका छन् । 

२. सुहाङ नेम्वाङ

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवासको निधनपछि रिक्त उक्त स्थानमा भएको उपचुनावको नतिजा आफ्नो पक्षमा पार्नैपर्ने दबाब सुहाङलाई छ । 

सुहाङले आफू निर्वाचित हुने दाबी पनि गरिरहेका छन् । तर, मतदाताले उनलाई कसरी लिन्छन् र मतदान गर्छन् भन्ने विषयमा पनि भर पर्नेछ । तर, यसअघि गठबन्धनको घेरा तोड्दै सुहाङका वुवाले जितेको निर्वाचन क्षेत्रमा उनलाई तुलनात्मक रुपमा जित निकाल्न सहज हुने आंकलन गरिएको छ । 

एमालेको बलियो संगठन रहेको इलाममा अहिले सुहाङलाई माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाको समेत समर्थन भएकाले सुहाङ बलियो प्रतिष्पर्धि हु्न् ।

३. मिलन लिम्बु

माओवादी केन्द्रको पत्रकार संगठनको जिम्मेवारी लिएर लामो समय काम गरेका मिलन लिम्बु जित्ने भन्दा पनि तेश्रो हुने प्रतिष्पर्धामै सीमित हुने सम्भावना बलियो छ । 

सहकारी ठगीको आरोपदेखि मिलनले पहिचानको मुद्दामा पहिले राखेको अडान लगायत विषयले उनलाई इलामको चुनावमा समर्थन बलियो हुने सम्भावना नरहेको बताइन्छ । यद्यपी चुनावको माहोल र मतदाताको मनोविज्ञान फेरिएमा भने नतिजामा तलमाथि नहोला भन्न सकिन्न । 

४. डकेन्द्र थेगिम

डकेन्द्र थेगिम पहिचानवावादी उम्मेदवार बनेका छन् । उनलाई इलाममा पहिचानवादीको मत आउने अपेक्षा गरिएको छ । आक्रामक प्रचारमा खटिएका डकेन्द्रपनि रास्वपा उम्मेदवार मिलन जस्तै जबरजस्त देखिन्छन् । तर, निर्वाचन जित्नेमा भन्दा पनि उनी तेश्रो चौथो हुनेमै प्रतिष्पर्धामा उत्रिने सम्भावना देखिन्छ । 

इलामको चुनावमा शीर्ष लडाई

इलाममा उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा भएपनि खास लडाई भने एमाले, कांग्रेस र रास्वपाको शीर्ष नेतृत्वबीचको नै हुने देखिन्छ । 

एमालेले इलामको चुनाव जितेमा पहिचानको विषय मत्थर हुनेछ भने पहिचानवादीमाथि एमालेले विपक्षमा छैनौं भनेपनि फरक व्यवहार प्रष्टले गर्नेछ । 


यता, कांग्रेसले चुनाव जितेमा चुनावी गठबन्धन नगर्ने अड्डी कसिरहेको कांग्रेसको पक्षले थप दबाब सिर्जना गर्नेछ भने रास्वपाले चुनाव जितेमा प्रदेश संरचनाविरुद्ध खुलेर उत्रिने र प्रदेश खारेजीको अभियान नै चल्ने सम्भावना छ । 

तर, पहिचानवादीले चुनाव जितेमा देशैभर फेरि पहिचानको मुद्दा सल्किनेछ । दलहरुले पनि पहिचानको मुद्दालाई जागृत बनाउने प्रयास थाल्ने सम्भावनाका आधार देखिन्छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update