News 24 Television
रारामा १० जिल्लाका १७ टिम कबड्डीमा भिड्दै

मुगु । यहाँको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ मा अवस्थित नेपालको ठूलो ताल रारामा सञ्चालन हुने कर्णालीकै प्रथम प्रदेशस्तरीय कबड्डी खेलमा १० जिल्लाका १७ टिम दर्ता भएका छन् । यही बैशख २६ गतेबाट राराको किनारमा रहेको ओखरबोटामा हुने उक्त खेलमा १७ टिम भिड्ने भएका हुन् ।

 वैशाख २८ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि ७ वटा महिला टिम र १० वटा पुरुष टिम दर्ता भएको ओयोजक सस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पुरुष टिम दर्ता भएको र महिला टिम ७ जिल्लाबाट मात्र दर्ता भएको अध्क्षय मल्लले बताएका छन् । खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद बिकास समितीको कार्यालयले जनाएकाे छ ।

प्रतेक टिमबाट १० जना खेलाडीका दरले गरी १ सय ७० जना कबड्डी खेलाडीहरु सहभागी हुने छन् । कबड्डी खेल सफल बनाउनका लागी २२ जना रेफ्री छनौट गरिएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा भाग लिनको लागि खेलाडी छनौट गर्न रारामा प्रदेशस्तरीय कबड्डी खेलको आयोजना गर्नुका साथै खेल माध्यमबाट राराको पर्यटन बिकासमा टेवा पुर्याउने उद्देश्य रहेकाे छ । रारा तालका किनारमा रहेका धार्मिक, सांस्कृतिक लगायत अन्य प्रचारप्रचार गर्नको लागि रारामा उक्त कबड्डी खेल सन्चालनमा गरिएको अध्यक्ष मल्लले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update