News 24 Television
बसबरियालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा क्षयरोग (टीबी) विरुद्धको सशक्त अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी क्षयरोगी खोजी अभियान शुरु गरेको हो ।

सर्लाहीको बसबरिया गाउँपालिकाले क्षयरोग (टीबी) विरुद्धको अभियान शुरु गरेको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ यो गाउँपालिकाले क्षयरोग विरुद्धको अभियान शुरु गरेको हो । यो अभियान अन्र्तगत गाउँ गाउँ टोलटोल पुगेर क्षयरोग र रोग लाग्न सक्ने लक्षण देखिएका बिरामी खोजिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको वडा नं. ५ को सहोडवा र ६ नम्बर वडाको धनगढामा एकीकृत रूपमा एक्सरे सहितको माइक्रोस्कोपी क्याम्प सञ्चालन गरिएको छ । 

घरदैलो मै क्षयरोग जस्तो घातक रोगको जाँच र उपचार उपलब्ध भएपछि स्थानीय हर्षित भएका छन् । गाउँटोलमै पुगेर पालिकाले उपचार र चेकजाच अभियान चलाउदा बाहिर गएर उपचार गराउन लाग्ने खर्च र झण्झटबाट पनि मुक्त भएको स्थानीयले बताएका छन । 

गाउँपालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान थालिएको बसबरिया गाउपालिका स्वास्थ्य शाखा प्रमुख जयलाल सहनीले बताए । 

यो अभियान अन्तर्गत वडा स्तरमा क्षयरोगका शंकास्पद बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परेमा थप उपचारका पठाउनुका साथै विरामी भेटिएकाहरुलाई नियमित रुपमा निःशुल्क औषधि सेवा प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ । 

गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको छ । शिविरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरको सहयोगमा  बिरामीहरूको छातीको एक्स–रे, थुक परीक्षण लगायतका सेवा सहज रूपमा उपलब्ध गराइएको छ । 

यस अभियानमार्फत क्षयरोगका बिरामीको पहिचान गरी उपचार सुरुआत गर्न सकिने अपेक्षा गरिएको छ । यो अभियानका क्रममा अहिलेसम्म १० जना क्षयरोगको बिरामी र २३ जना क्षयरोगको विशेष शंकास्पद व्यक्ति पहिचान भएको छ । 

क्षयरोगको छिटो पहिचान, शीघ्र उपचार र समुदायको सक्रिय सहभागितामार्फत बसबरियालाई क्षयरोगमुक्त बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम नियमित सञ्चालन गरिने बसबरिया गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update