News 24 Television
स्थानीय सरकारले गरे बजेट प्रस्तुत, वीरगञ्जको प्राथमिकतामा डिजिटल सेवा

पर्सा । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।  

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । 

महानगरका उपमेयर इम्तियाज आलमले चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५०  लाख ४९ हजार, पूँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख, वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख बजेट विनीयोजन गरिएको बताए । 

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख , संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख,प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार,प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७लाख १३ हजार ,घरजग्गा रजिष्ट्रेशनशुल्कबापत २५ करोड र नगदमौज्दाबाट १५ करोड व्यहोरिने उपमेयर आलमले बताए । 

उनले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा,स्वास्थ्य,कृषि, पर्यटन,सरसफाई,वातावरण संरक्षण,गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवाप्रवाह रहेको पनि बताए । 

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रबद्र्धनका साथै शिक्षा,स्वास्थ्य, सरसफाईलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर सिंहले ‘अलौ पर्व संग्रहालय’ र ’रेल्वे म्युजियम’निर्माण गरिने बताए । उनले स्थानीय तथा साना उद्योगहरुको उत्पादनलाई महानगरले प्राथमिकतामा राखी त्यसको बजारीकरणलाई समेत सहयोग गर्ने बताए । 

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा’महानगर नमुना अस्पताल’निर्माण गर्ने, वडा नम्बर २३ मा ‘सहुलियत दरको ल्याब सेवा सञ्चालनमा ल्याइने र वडा नम्बर १६ इनर्वामा बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल स्थापना गरिने, महानगर आँफैले ‘महानगर फार्मेसी’ सञ्चालनमा ल्याउने योजना पनि महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । 

महानगरका सबै सामुदायिक विद्यालयमा ’एक विद्यालय, एक स्मार्ट कक्षा’कार्यक्रम लागू गरिने, आधारभूत तहका  सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ ‘एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टर’ कार्यक्रम लागु गरिने, वीरगन्ज–१० आदर्शनगरमा रहेको पुस्तकालयलाई आधुनिकीकरण गरिने ,३२ वटै वडामा सामुदायिक पुस्तकालय स्थापना गरिने पनि भनिएको छ । 

यता, विराटनगर महानगरपालिकाले पनि आगामी आर्थिक वर्ष ०८२८३ का लागि ४ अर्ब ४० लाख रुपैया बराबरको बजेट ल्याएको छ ।  

विराटनगर महानगरपालिकाले छोरी बचाउ छोरी पढाउ तपाईको स्वास्थ्य महानगरको चासो सानै छु बढ्न देउ, विवाह होइन पढ्न देउ,महानगरको चाहना, हिंसा रहित नगरको कामना ,सबैका लागि पानी एक घर ,एक रोजगारी ,खुशीले तिरौं कर, बनाऔं समृद्ध महानगर,कर करले होइन, रहरले तिरौं जस्ता कार्यक्रमहरु घोषणा गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update