
कास्की । पोखराका तालहरू जोगाउनु र सरसफाई गर्नु साझा चुनौतीको विषय बनेको छ । यिनै समस्याका बाबजुद पोखराका तालहरूको संरक्षण र सरसफाईका लागि पोखरा महानगरपालिका र व्यवसायी घराना लक्ष्मी ग्रुप बीच समझदारी भएको छ । समझदारी अनुसार अबको पाँच वर्ष लक्ष्मी ग्रुपले आफ्नै लगानीमा सिर्जना तालको सरसफाई तथा रोजगारी सिर्जना गर्नेछ ।
पोखरालाई तालै तालको शहर भनिन्छ । तर बर्खायाममा माथिबाट आउने लेदो, जलकुम्भी झार लगायतका समस्याका कारण पोखराका तालहरूको पानी प्रदूषित बन्दै छ भने जलकुम्भी झारले ताल ढाक्दैछ । विभिन्न संघ संस्था र पोख्रेलीहरूको स्वयंसेवाले बेलाबेलामा पोखराका तालहरूको सरसफाईको विषय नउठेको पनि होइन तर दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिदा पोखराका फेवा, बेगनास, रूपा लगायतका तालहरू दिनानुदिन सङ्कटमा पर्दै गएका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, स्थानीय समुदायको आर्थिक सशक्तिकरणका लागि सिपमूलक तालिम र रोजगारीको अवसर सिर्जना गर्नका लागि नेपालकै अग्रणी व्यवसायीक समूह लक्ष्मी ग्रुपले पोखराका सबै तालहरूमा सरसफाई तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालन गर्ने भएको छ ।
परियोजना सञ्चालनका लागि बिहिबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबीच समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यो परियोजनाका लागि नीतिगत सहजता र कानूनी अड्चन फुकाउने विषयमा महानगरपालिकाले काम गर्नेछ भने परियोजना सञ्चालनका लागि चाहिने जनशक्ति, प्रविधि लगायतका सबै क्षेत्रमा लक्ष्मी ग्रुपले लगानी गर्नेछ ।
परियोजना अन्तर्गत महानगरभित्र रहेका सबै तालहरूको सरसफाई, जलकुम्बी लगायतका झारहरूको व्यवस्थापन तथा जलकुम्बीबाट हस्तकला उत्पादन गर्ने र सिप विकास गर्ने, गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण तथा विपन्न घरपरिवारका लागि ष्लमगअतष्यल चुलो वितरण गर्ने गरी लक्ष्मी ग्रुपले परियोजना अगाडि सारेको हो ।
तालहरूको सरसफाई र संरक्षणका लागि लक्ष्मी ग्रुपले नेपालमा अहिलेसम्म प्रयोग नभएका तर युरोपियन मुलुकहरूमा सफल परीक्षण भएका अत्याधुनिक प्रविधि भित्र्याउने, जलकुम्बी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, विज्ञ परामर्शदाता र जनशक्तिको उत्पादन गरी हस्तकलाका सामानहरू निर्माण गरिनेछन् ।
परियोजनाको सम्झौता भएसँगै पहिलो चरणमा छ महिना परीक्षणकाल सहित पाँच वर्ष सञ्चालन हुनेछ । ताल सरसफाईको पाइलट प्रोजेक्टका रूपमा पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेका खास्टे र निउरेनी ताललाई अगाडि सारिएको छ । परियोजना अनुगमन र मूल्याङ्कन भने महानगरपालिकाको प्राविधिक टोलीले गर्नेछ ।
सार्वजनिक उत्तरदायित्व र समाजसेवा अन्तर्गत लक्ष्मी ग्रुपले सुरु गरेको यो परियोजनाले पोखराका तालहरूको दिगो संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
यस्तै वायु प्रदूषण रोक्नका लागि प्रथम चरण अन्तर्गत दाउरा विस्थापन गरी १ हजार परिवारमा विद्युतीय चुलो र भाँडाकुँडा वितरण गर्ने योजना पनि रहेको छ । जुन योजनाले महानगरपालिकाले लिएको पञ्चवर्षीय नगर ऊर्जा योजनालाई महत्वपूर्ण सहयोग पुग्नेछ । यो परियोजना पोखरा महानगरपालिका भित्र व्यावसायिक घरनाले गरेको सबैभन्दा ठूलो सामाजिक उत्तरदायित्व भित्रको कार्य हो । परियोजना सम्पन्न हुँदासम्म कति बजेट खर्च हुन्छ यो विषय भने खुलाइएको छैन ।