झापा । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण र उपभोग बढाउने उद्देश्यले झापाको मेचीनगरमा ग्रामीण कृषि महोत्सव आयोजना गरिएको छ । मेचीनगर–२ स्थित बौद्धमोडमा असोज ३ र ४ गते आयोजना गरिएको महोत्सवमा झापाका विभिन्न स्थान तथा छिमेकी जिल्ला इलामका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बिक्री तथा प्रदर्शनीमा राखिएको थियो ।
झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा स्थानीय किसानले उत्पादन गरेका कृषि सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउँदै बजार विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा १० वटा स्टल राखिएका थिए । स्टलमा स्थानीय क्षेत्रमा उत्पादन भएका विभिन्न कृषि उपज तथा कृषि सामग्री बिक्रीवितरण सँगै प्रदर्शन गरिएको थियो । महोत्सवले ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषि उपजको पहिचान र बजार विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
किसानले उत्पादन गरेको वस्तु बिचौलियामार्फत बजारसम्म पुग्दा उचित मूल्य नपाउने अवस्था रहेको भन्दै स्थानीय उत्पादनलाई स्थानीयस्तरमै प्रवद्र्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।
युवा व्यवसायी डेनु मगरले कृषि उत्पादनलाई व्यवसायसँग जोड्न सके ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताए । स्थानीयस्तरमा उत्पादन हुने कृषि वस्तुको गुणस्तर र सम्भावना पहिचान गरी त्यसको बजार विस्तारमा निजी क्षेत्र र युवाको सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।
महोत्सव आयोजक समितिका संयोजक पूर्णबहादुर खड्काले ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका वस्तुलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । स्थानीय उत्पादनको प्रचारप्रसारसँगै किसान, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताएका छन् ।
महोत्सवमा स्थानीय उत्पादनको बिक्रीसँगै कृषि क्षेत्रका सम्भावना, किसानका समस्या र बजारीकरणका चुनौतीबारे समेत छलफल भएको आयोजकले जनाएको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूल, खाद्यान्नलगायत कृषि उपजलाई व्यवस्थित बजारसँग जोड्न सके स्थानीय अर्थतन्त्र चलायमान बनाउन सकिने देखिन्छ ।


