रुपन्देही । प्राकृतिक सुन्दरता, आध्यात्मिक विरासत र परम्परागत उपचार पद्धतिले भरिपूर्ण नेपालमा ‘वेलनेस पर्यटन’को सम्भावना बलियो बन्दै गएको छ । विशेषगरी भैरहवा र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आध्यात्मिक र आधुनिक वेलनेस सेवालाई जोड्न सके नेपाल विश्वकै प्रमुख स्वास्थ्य पर्यटन गन्तव्य बन्न सक्ने सरोकारवालाहरु बताउँछन् ।
बुद्ध जन्मस्थल लुम्बिनी आफैंमा ध्यान र मानसिक शान्तिको विश्वव्यापी केन्द्र हो । नजिकै रहेको नेपाल–भारत सीमा नाका र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गर्दा यहाँ विदेशी पर्यटकको सीधा पहुँच सहज छ ।
लुम्बिनीको आध्यात्मिक वातावरणमा योग, विपश्यना ध्यान, आयुर्वेद, ध्वनि उपचार र स्पा थेरापीजस्ता सेवाहरु एकीकृत गर्न सके पर्यटकको बसाइँ अवधि र खर्च दुवै बढाउन सकिने विश्वास गरिएको छ । रुपन्देहीको बेलहिया नाकाबाट स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिन्छन् । हवाई पर्यटकका लागि गौतमबुद्ध विमानस्थलले अन्तर्राष्ट्रिय ढोका खोलेको छ । यसले पनि बुद्ध जन्मभूमिसँगै प्रदेश नै आरोग्य पर्यटनका लागि महत्वपूर्ण हुनसक्ने विश्वास सरोकारवालाको छ । नेपाल सरकारले पनि आरोग्य पर्यटनका लागि तयारी थालेको छ ।
गत हप्ता मात्रै लुम्बिनीमा पहिलोपटक आरोग्य रणनीतिबारे सरोकारवालाको सुझाव संकलन गरिएको थियो । व्यवसायीले लामो समयदेखि लुम्बिनीमा आरोग्य पर्यटन विकासका लागि पहल गरिरहेका छन् । सरकारले पनि अन्य पर्यटकीय गतिविधिसँगै आरोग्यलाई पनि उच्च प्राथमिकता राखेको छ ।
सरकारले आरोग्य पर्यटन हबका रुपमा काठमाडौं, लुम्बिनी, पोखरा, अन्नपूर्ण, विभिन्न हिल स्टेशन र हिमालय क्षेत्रलाई छनोट गरेको छ । सरकारले राष्ट्रिय आरोग्य पर्यटन रणनीति समेत लागू गरेको छ । यो सम्भावनालाई साकार पार्न सरकार र निजी क्षेत्रको सहकार्य जरुरी देखिन्छ । हिमाल, पहाड र तराईको अनुपम मानिने नेपालमा आरोग्य पर्यटनको विकास मात्रै गर्न पर्यटक दोब्बर आउन भन्दै यसका लागि लुम्बिनीलाई केन्द्रमा राख्नुपर्ने यहाँका पर्यटन व्यवसायीको सुझाव छ ।
सरकारले आरोग्य रणनीति बनाएर काम गरिरहँदा निजी क्षेत्रले परम्परागत होटल व्यवसायबाट माथि उठेर लक्जरी रिसोर्टहरुमा आयुर्वेदिक पञ्चकर्म, प्राकृतिक चिकित्सा र ध्यान कक्षहरु निर्माणमा लगानी बढाउनुपर्ने देखिन्छ ।
धार्मिक र साहसिक पर्यटनमा आउने पर्यटकलाई ‘वेलनेस प्याकेज’ अन्तर्गत समेटेर ट्रेकिङ वा लुम्बिनी भ्रमणपछि शरीर र मनको पुनर्ताजगीका लागि स्पा तथा योग सत्रहरुमा जोड्ने योजना बनाउनुपर्छ । पर्यटकलाई यसरी स्वास्थ्य र कल्याणसँग जोड्न सके नेपालको आर्थिक समृद्धिमा नयाँ आयाम थपिने निश्चित छ ।
