News 24 Television
भाङ्गेझरना : वर्षायाममा मन लोभ्याउने रसुवाको प्राकृतिक गन्तव्य

वर्षायामको सुरुवातसँगै सामाजिक सञ्जालमा निकै चर्चामा आएको रसुवाको भाङ्गे झरना घुम्ने अवसर मिल्यो। प्राकृतिक सौन्दर्य, झरनाको भव्यता र वरपरको हरियालीले भाङ्गे झरनाको यात्रा निकै रमाइलो र अविस्मरणीय बन्यो।

भाङ्गे झरना रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–२, डाँडागाउँ क्षेत्रमा पर्छ। यो बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डसँगै रहेको आकर्षक प्राकृतिक पर्यटकीय गन्तव्य हो। काठमाडौँबाट करिब ७०\७८ किलोमिटरको दूरीमा रहेको यो स्थान सडकमार्गबाट सहजै पुग्न सकिने गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

jharana-_2-1786850541.jpg
करिब तीन घण्टाको यात्रापछि झरना क्षेत्रमा पुग्न सकिन्छ। यात्राका क्रममा सडक आसपास देखिने अन्य साना–ठूला झरना, हरियाली, पहाडी भूगोल र त्रिशूली नदी आसपासका प्राकृतिक दृश्यले यात्रालाई अझ रोमाञ्चक बनाउँछन्।

भाङ्गे झरनाको उचाइ करिब १८१ मिटर रहेको उल्लेख पाइन्छ। विशेषगरी वर्षायाममा पानीको बहाव बढेसँगै झरना अझ आकर्षक र मनमोहक  देखिन्छ। असारदेखि भदौसम्मको समय भाङ्गे झरनाको सौन्दर्य अवलोकनका लागि उपयुक्त मानिन्छ। भाङ्गे झरनाको आसपास पनि थुप्रै सहायक झरनाहरुले वातावरणलाई थप आकर्षक बनाएको छ। 

प्राकृतिक सौन्दर्यका कारण भाङ्गे झरना ल्यान्डस्केप फोटोग्राफी, ट्राभल भिडियो, ड्रोन भिडियो तथा सामाजिक सञ्जालका सामग्री निर्माणका लागि पनि निकै आकर्षक देखिन्छ। झरनाको उचाइ, चट्टानी संरचना, वरपरको हरियाली र त्रिशूली नदी आसपासको दृश्यले फोटोग्राफी तथा भिडियो निर्माणका लागि उत्कृष्ट वातावरण प्रदान गर्छ।

भाङ्गे झरना घुमेर एकै दिनमा काठमाडौँ फर्किन सकिने भए पनि आसपासमा होमस्टे तथा रिसोर्टहरू समेत सञ्चालनमा रहेकाले केही समय बसेर प्राकृतिक वातावरणको आनन्द लिन सकिन्छ। यस क्षेत्रको पर्यटन प्रवर्द्धन र झरनाको संरक्षणका लागि स्थानीय युवाहरू पनि सक्रिय रूपमा लागिपरेका छन्। पर्यटकलाई सहज बनाउने तथा क्षेत्रको संरक्षण र विकासका लागि विभिन्न काम तथा परियोजनाहरू अघि बढिरहेका छन्।

प्राकृतिक सौन्दर्यले भरिएको भाङ्गे झरना केवल झरना हेर्ने ठाउँ मात्र नभई प्रकृतिसँग नजिकिन, फोटोग्राफी गर्न, यात्रा अनुभव संकलन गर्न र केही समय शान्त वातावरणमा बिताउन उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ। उचित संरक्षण, पूर्वाधार विकास र प्रचार–प्रसारलाई निरन्तरता दिन सके भाङ्गे झरना रसुवाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना देखिन्छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update