News 24 Television
पोखरामा फ्लाई दुवईको नियमित उडान, एयर अरेवियाको पनि चासो

कास्की । तीन वर्षदेखि अन्तर्राष्ट्रिय व्यावसायिक उडानविहीन रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब सक्रिय बन्ने संकेत देखिएको छ । 

फ्लाई दुबईले असोज ७ देखि पोखरा–दुबई सिधा उडानको तयारी गरेको छ भने एयर अरेबियाले पनि सम्भाव्यता अध्ययन गरिरहेको छ भने पर्यटन व्यवसायी उत्साहित बनेका छन् र होटलहरूले पनि विशेष छुट योजना ल्याएका छन् । 

तीन वर्षदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ देखि फ्लाई दुबईले पोखरा–दुबई सिधा उडान सुरु गर्ने तयारी गरेको छ । 

पर्यटन क्षेत्रमा उत्साह थपेको छ । दुबईसँगको सिधा हवाई सम्पर्कले विदेशी पर्यटक बढ्ने अपेक्षासहित होटल संघ पोखराले सदस्य होटलहरूमा विशेष छुट, प्याकेज र आकर्षक अफर सार्वजनिक गरेको जनाएको छ ।

फ्लाई दुबईपछि एयर अरेबियाले पनि पोखरा उडानको सम्भाव्यता अध्ययन गरिरहेको छ । थप अन्तर्राष्ट्रिय एयरलाइन्स भित्रिए पर्यटन व्यवसाय, सेवा विस्तार र लगानी बढ्ने अपेक्षा गरिएको छ । नियमित अन्तर्राष्ट्रिय उडानले होटल, रेष्टुरेन्ट, ट्राभल, यातायात, स्थानीय रोजगारी र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूको विश्वास छ ।

तर, अन्तर्राष्ट्रिय उडानको तयारीसँगै अर्को चिन्ता पनि देखिएको छ । पर्याप्त यात्रु नपाउँदा उडान नियमित हुन नसक्ने हो कि भन्ने आशंका पर्यटन व्यवसायीहरूबीच समेत छ । 

यसअघि पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन भएका अन्तर्राष्ट्रिय उडानहरू निरन्तर हुन नसकेको अनुभवका कारण यस्तो चासो बढेको हो । यद्यपि, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भने यस्तो आशंका नगर्न आग्रह गर्छन् । 

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारीले लामो समयदेखि प्रतिक्षामा रहेको पर्यटन क्षेत्रलाई नयाँ आशा दिएको छ । अब यो आशा नियमित उडान, बढ्दो पर्यटक आगमन र सशक्त पर्यटन अर्थतन्त्रमा रूपान्तरण हुन्छ कि हुँदैन त्यसतर्फ सबैको ध्यान बढीरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update