
कैलाली । गोदावरी नगरपालिकामा स्थायी रूपमा सञ्चालनमा आएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रले नगरको फोहोरमैला व्यवस्थापनमा नमुना बनेको छ । हालै, एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना धनगढी कैलालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. ३, चौकीडाँडामा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र संचालनमा आएको हो । केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाका १२ वटै वडाहरूमा प्रभावकारी रूपमा फोहोर संकलन र व्यवस्थापन सुरु भएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना धनगढी कैलालीको सहकार्यमा गोदावरी नगरपालिका वडा नं. ३, चौकीडाँडामा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
पाँच हेक्टर क्षेत्रफलमा फैलिएको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यसको निर्माणका लागि ७५ प्रतिशत एडिबीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोग रहेको छ ।
केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाका १२ वटै वडाहरूमा प्रभावकारी रूपमा फोहोर संकलन र व्यवस्थापन सुरु भएको छ । यसले सहरी सौन्दर्य, स्वास्थ्य सुरक्षा र जलवायु अनुकूलतामा सकारात्मक असर पार्ने विश्वास लिइएको छ ।
नगरपालिकाले नगरवासीहरूलाई स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर दिन आग्रह गर्दै सहकार्यको अपेक्षा राखेको छ । घरमै फोहोर छुट्याएर दिइयो भने रिसाइक्लिङ, कम्पोष्ट र अन्य व्यवस्थापन प्रक्रियाहरू कम खर्चिलो र बढी प्रभावकारी बन्ने गोदावरी नगरपालिकाका सरसफाई शाखा प्रमुख प्रमलसिंह महरा बताउँछन् ।
गोदावरी नगरपालिकाले पछिल्ला तीन वर्षदेखि घरधुरी, पसल तथा व्यवसायहरूबाट दैनिक रूपमा उत्पन्न हुने फोहर संकलन तथा व्यवस्थापन निजी साझेदार संस्था मातृभूमि संरक्षण प्रा.लि. मार्फत गर्दै आइरहेको छ । यस केन्द्रमा दैनिक १३ टन ठोस फोहर र १३ घन मिटर मानवजन्य फोहोर प्रशोधन गर्ने क्षमता छ ।
केन्द्रको अनुमानित सेवा अवधि २३ वर्ष तोकिएको छ । स्रोतमा वर्गीकरणको अभ्यासले व्यवस्थापन केन्द्रको दीर्घायु मात्र नभई नगरको आर्थिक लाभ र वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण टेवा पुग्ने फोहर व्यवस्थापनका विज्ञ केशबराज पन्त बताउँछन् ।
नगरपालिकाले दीर्घकालीन, सस्तो, सफा र वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने उद्देश्यले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सुरु गरेको नगरपालिकाले जनाएको छ ।
एशियाली विकास बैंकका प्रतिनिधिहरू र शहरी विकास मन्त्रालयको संयुक्त टोलीले उक्त केन्द्रको स्थलगत अनुगमन गरि प्राविधिक, सामाजिक र व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको उल्लेख गरेको छ ।
प्रत्येक नगरवासीले वर्गीकृत फोहोर संकलन र फाल्ने जिम्मेवारी लिएको खण्डमा मात्र वातावरणमैत्री र दिगो समाधान हासिल गर्न सकिने नगरपालिकाको विश्वास छ ।