
कास्की । पर्यटकको सुरक्षा र पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने तयारी थालिएको छ । पर्यटकहरूलाई सुरक्षित वातावरण दिन सुरक्षा निकायदेखि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाहरूले साझा रणनीति बनाउँदै छन् ।
हिमाल, ताल र मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा, जहाँ हरेक वर्ष शान्ति, सुन्दरता र मनोरञ्जनका लागि हजारौ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
उनीहरूको सुरक्षालाई मध्यनजर र पोखरा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै, शान्ति सुरक्षालाई अझ सुदृढ बनाउने प्रयास सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा पर्यटन परिषद्को समन्वयमा ‘पर्यटनको गन्तव्य, सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित अन्तरक्रिया तथा छलफल समेत भएको छ ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, पर्यटन क्षेत्रका अगुवा, संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रह्यो । कार्यक्रममा सुरक्षा सबैको सरोकारको विषय रहेको र सबैको प्रयत्नबाट नै सुरक्षित सहर बनाउन सकिने कास्की प्रशासन र सुरक्षा निकायको भनाइ छ ।
कार्यक्रममा सहभागीहरूले पोखराको पर्यटन विकासमा सुरक्षाको महत्त्वपूर्ण योगदान रहेको भन्दै एकजुट भएर काम गर्नुपर्ने धारणा राखेका छन् । सुरक्षित वातावरण र समन्वित प्रयासबीच, पोखरा भ्रमण वर्ष २०२५ केवल एक कार्यक्रम मात्र नभई, विश्व सामु पोखरालाई शान्त, सुरक्षित र स्वागतयोग्य शहरको रूपमा चिनाउने अवसर समेत रहेको कार्यक्रममा जोड दिइएको छ ।
रात्रिकालिन व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने, पर्यटकीय क्षेत्रमा माग्न बसेकाहरुकोे व्यवस्थापन गर्दै पर्यटकलाई प्रभावित हुन जोगाउनु पर्ने लगायतका सुझाव समेत सरोकारवालाहरुका थिए ।
पोखरा भ्रमण वर्ष २०२५ को तयारीसँगै, सुरक्षित र व्यवस्थित पोखरा निर्माण गर्ने साझा प्रतिबद्धता कार्यक्रममार्फत झल्किएको छ । सम्बन्धित निकायहरूको सक्रियता र सहकार्यले पोखरालाई अझ पर्यटकमैत्री बनाउने विश्वास लिइएको छ ।