
कास्की । हिमालपारिको मुक्तिनाथ, कोरला नाका, थोरङ्लापास तथा तिलिचो ताल जाने तीर्थयात्रु एवं पर्यटक लेक लागेर ज्यान गुमाउने गरेका छन् । खासगरि सुरक्षाका उपाय नअपनाउने र हेलचेक्राइका कारण पर्यटकको मृत्यु हुने गरेको सरोकारवालाहरु बताउँछन् । त्यसमा पनि भारतीय पर्यटकहरुको हाइअल्टिच्युट सिक्नेसका कारण मृत्यु हुने गरेको छ । समस्या बढ्न थालेकाले न्यूनिकरणलाई प्राथमिकतामा राख्नै पर्ने अवस्था सृजना भएको छ ।
उच्च हिमाली भेगमा पुग्ने पर्यटकलाई लेक लाग्ने समस्या बढ्न थालेको छ । २८ सय मिटरभन्दा माथिको उचाईमा पुग्दा लेक लाग्ने समस्या देखिने गरेको छ । खासगरी होचो स्थानबाट एकै पटक उचाइमा पुग्नेहरुको लेक लागेर मृत्यु समेत हुने गरेको छ ।
लेग लागेर मृत्यु हुनेको ग्राफ बढ्दो
- आर्थिक वर्ष २०८१\८२ अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकले ज्यान गुमाए ।
- आर्थिक वर्ष २०८०\८१ मा समेत लेक लागेर अन्नपूर्ण क्षेत्रमा ज्यान गुमाउने पर्यटकको संख्या २० थियो ।
- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार आर्थिक वर्ष २०८०\८१ मा लेक लागेर मृत्यु हुनेमा २० जना मध्ये नेपाली ५, भारतीय ११, बेलायत र युक्रेनका १–१ तथा मलेशियाका २ जना पर्यटक थिए ।
- आर्थिक वर्ष २०८१\८२ मा लेक लागेर मृत्यु हुनेमा १८ मध्ये नेपाली ६, भारतीय ८, अमेरिका, कोरिया, जर्मन र स्वीजरल्याण्डका १–१ जना छन् ।
उच्च हिमाली भेगमा लेक लागेर पर्यटकको ज्यान जाने क्रम बढेपछि पर्यटकको सुरक्षाबारे पर्यटन व्यवसायी चिन्तित छन् ।
ज्यान गुमाउने पर्यटकमध्ये पनि अधिकांश भारतीय र नेपाली छन् । दुईवर्षको अवधिमा ३८ जना पर्यटकको ज्यान जाँदा १९ जना भारतीय पर्यटक रहेको एक्यापले जनाएको छ ।
भारतीयपछि ११ जना नेपाली पाहुनाले पनि दुईवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर मृत्यु भएको छ । व्यावसायीका अनुसार भारतीय र आन्तरिक पाहुनाले अरु विदेशीको तुलनामा बढी जोखिम मोलेर यात्रा गर्ने गरेका छन् । जसको कारण ज्यानै जाने जोखिम बढेको उनीहरुको भनाई छ । हिमाली क्षेत्रसम्मको हतारको यात्रामा ब्रेक लगाउन पनि उत्तिकै चूनौती रहेको उनीहरुको भनाई छ ।
पछिल्ला वर्ष नेपालको तराई र सिमावर्ती भारतीय शहरबाट पर्यटकबाट आएका भारतीय पर्यटक एकैदिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने गर्छन् । जसका कारण जोखिम थपिएको व्यवसायी बताउछन् । समुन्द्र सतहबाट एकसय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३ हजार ७ सय १० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नै जोखिमपूर्ण रहेको उनीहरुले बताए । पर्यटकसंग ट्रेकिङ गाइड अनिवार्य गर्न सके समस्या परेमा तत्काल उद्धार गर्न सकिने तर्फ व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्नपूर्ण क्षेत्रको मूल आधार भनेकै पर्यटन भएकोले पर्यटन क्षेत्र सुरक्षित हुनुपर्ने व्यवसायीको भनाई छ । यता, पर्यटकलागि सुरक्षित गराउन पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्री राख्न सकिने पर्यटन बोर्डले जनाएको छ ।
हतारको यात्राले पर्यटकको मृत्यु हुने यस्ता घटनाक्रबाट सिंगो पर्यटन क्षेत्र प्रभावित हुनेमा व्यवायीले चिन्ता व्यक्त गरे । बोर्डरबाटै भित्रिएदेखि भारतीय पर्यटकलाई मुक्तिनाथसम्म पुर्याएर फर्काउने गरि व्यवासायीले नै मनलाग्दी गरिरहेको उनीहरुको भनाई छ । अन्नपूर्ण क्षेत्र साहासिक पर्यटकीय क्षेत्र भएकोले पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवाला मिलेर काम गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।