News 24 Television
नेताका रिसले पर्यटन क्षेत्रमा विध्वंश

कास्की । अवस्था सामान्य हुने थियो भने देशको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरू पर्यटकको स्वागतमा भ्याइ नभ्याई हुन्थे यतिबेला । तर, जेनजीको नाममा भएको विध्वंसकारी गतिविधिका कारण पर्यटन व्यवसाय अहिले ध्वस्त बनेको छ । ब्ययवसायीहरु होटलको खरानी उठाउन व्यस्त छन् । यति हुँदा पनि पर्यटन क्षेत्रलाई अपहेलना गरे सरकारलाई तालाचाबी बुझाएर विदेश जाने पर्यटन व्यवसायीले चेतावनी दिएका छन् । 

देशको पर्यटकीय राजधानी पोखरामा नाकाबन्दी, भूकम्प र कोरोना कालमा कुनै पनि भौतिक क्षति भएन तर जेनजीका नाममा विध्वंसकारी रूप लिएको आन्दोलनले यसभन्दा अगाडि कहिल्यै नभएको क्षति बेहोर्नु पर्यो । पोखराका होटलहरू छानीछानी तोडफोड र आगजनी गराइयो । 

पर्यटकीय सिजन सुरु भएको थियो । सन् २०२६ को बुकिङ राम्रो थियो । तर अहिलेको यो विध्वंसले यो सिजनलाई मात्रै खराब गरेको छैन कि भौतिक संरचनादेखि आगामी सिजनलाई समेत पर्यटन व्यवसाय माथि नउकासिने गरी थला पारिदिएको छ । पोखरामा ९६ वटा कोठा रहेको होटल सरोवर पूर्णरूपमा ध्वस्त छ । 

होटलका सञ्चालक भरत पहारीका अनुसार करिब १ अर्बको क्षति भएको छ । जेनजीको नाममा अराजकतावादीले गरेको आगजनीबाट ध्वस्त भएको संरचनामाथि उभिएर पर्यटन ब्यवसायीहरु पीडासँगै आक्रोश पोखिरहेका छन् ।

जेनजी आन्दोलनका नाममा होटलहरु छानीछानी आगो लगाइएका छन् । पोखराका थुप्रै होटल भग्नावशेषमा परिणत भएको छ । 

छानीछानी ध्वस्त बनाइएको अर्को होटल हो होटल एडम । होटल एडमका सञ्चालक बासु त्रिपाठी अब लगानी थप गर्ने र नयाँ लगानी भित्र्याउने बाटो पूर्णरूपमा बन्द भएको बताउँछन् ।

खासगरी मन्त्री र राजनीतिक दल निकटका ब्यवसायीहरुको होटलहरु आन्दोलनकारीको निशानामा परेका छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाको होटल बगैँचा, मन्त्री थकाली रहेको संरचना र लेकसाइडमै रहेको अर्को महल ध्वस्त पारिएको छ । 

बर पिपल रिसोर्ट आंशिक रूपमा ध्वस्त छ । अन्य विभिन्न पर्यटन व्यवसायहरूमा छिटपुट आक्रमण गरिएको छ । सम्पूर्ण व्यवसायीहरू अहिले त्रासमा छन् । पोखरामा मात्रै ३ अर्बभन्दा बढीको पर्यटन क्षेत्रको भौतिक संरचनामा क्षति पुगेको छ । एकातिर भौतिक क्षति, अर्कोतिर पर्यटनको सिजनमा भएको यो घटनाले यो सिजन व्यवसायीहरू रित्तो हात बस्नुपर्ने अवस्था छ । 

यसलाई मध्यनजर गर्दै बीमा बापतको रकम प्राप्ति, ब्याजदरमा छुट र विभिन्न सहुलियतका योजना ल्याउनुपर्ने ब्यवसायीहरुको माग छ । पर्यटन व्यवसायमाथि उठ्ने गरी सरकारले काम कारबाही नगरे आफ्नो व्यवसायको तालाचाबी सरकारलाई बुझाएर विदेश पलायन हुनुपर्ने अवस्था आउने उनीहरुको भनाई छ ।
दश वर्षे सशस्त्र युद्धदेखि भारतीय नाकाबन्दी, भूकम्प र कोरोना काल भन्दा पनि यतिबेला झन् भयङ्कर स्थितिमा गुज्रिरहेको छ पोखराको पर्यटन । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update