
काठमाडौं । अहिले अर्थतन्त्रक्षेत्रमा सर्वाधिक चासोमा पर्ने मध्येको एक शेयर बजार अर्थात धितोपत्र बजार पनि हो । लाखौं लगानीकर्ताहरुले अर्बौको कारोबार गर्ने धितोपत्र बजारको अहिलेको अवस्था कस्तो छ त ? कति छ यसको पूँजीकरण ? कस्तो छ, आगामी भविष्य ?
शेयर बजार अर्थात धितोपत्र बजार सानो–सानो लगानीमा पनि जान्यो भने र कारोबारमा चलाख बन्न सक्यो भने छोटो समयमै करोडपनि बन्ने सम्भावना बोकेको बजार हो । त्यसैले पनि लगानीकर्ताहरु यस क्षेत्रमा आकर्षित हुन्छन् ।
प्रायको आर्कषणमा परेको यो बजारको नेपालमा वर्तमान अवस्था कस्तो छ त ? यो चासोको विषय पनि हो । नेपाल राष्ट्र बैंकले के देखाउँछ शेयर बजार बारे पहिले यो हेरौं,
नेपालमा शेयरबजारको अहिलेको अवस्था ?
- शेयरबार अर्थात धितोपत्र बजारको पूँजीकरण ४४ खर्ब ६७ अर्ब पुगेको
- गत भदौ मसान्तमा धितोपत्र बजार पूँजीकरण रु. ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको
- २०८१ भदौ मसान्तमा बजार पूँजीकरण रु. ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो ।
- त्यतिबेला बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१ दशमलव ८८ प्रतिशत रहेकोमा गत भदौमा ७३ दशमलव १५ प्रतिशत रहेको छ ।
- २०८१ भदौ मसान्तमा २५ सय ८० दशमलव ७६ रहेको नेप्से सूचकांक गत भदौ मसान्तमा २६ सय ७२ दशमलव २५ कायम भएको छ ।
सूचीकृत कम्पनीहरूको अवस्था
- गत भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७६ पुगेको
- सूचीकृत कम्पनीहरूमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी
- ९४ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका
- अघिल्लो वर्षको भदौमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६७ थियो ।
- सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५२ दशमलव ९ प्रतिशत
- जलविद्युत कम्पनीको हिस्सा १४ दशमलव ९ प्रतिशत
- लगानी कम्पनीको हिस्सा ७ दशमलव ५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५ दशमलव ६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४ दशमलव ९ प्रतिशत, होटेलको हिस्सा २ दशमलव ७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११ दशमलव ३ प्रतिशत रहेको
- नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत भदौ मसान्तमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ सय ७७ अर्ब ९७ करोड रहेको छ ।
कुन शेयरको अवस्था कस्तो ?
- आर्थिक वर्ष २०८२\८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, १ अर्ब ८३ करोड बराबरको बोनस शेयर, १ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १७ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब १८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ९९ करोड ४७ लाख बराबरको साधारण शेयर गरि कुल १० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।