News 24 Television
क्षणभरमै एकै किसानको करोडौं स्वाह, सरकार वेमतलबी बनेको गुनासो

झापा । झापाको झापा गाउँपालिका–३ स्थित रङपुरका किसानको व्यवसायिक केरा खेतीमा बाढी पस्दा करोडौंको क्षति भएको छ ।  दुईसाता अघि दशैंको बेला अविरल वर्षापछि माई खोलामा आएको बाढीले स्थानीय चन्द बस्नेतको करिब ३० विगाहा क्षेत्रफलमा फैलिएको केरा खेती सखाप पारिदिएको हो । 

यि हुन् झापा चन्द्र बस्नेत । केरा खेतीबाट राम्रो आम्दानीको अपेक्षामा थिए चन्द्र बस्नेत, तर, उनको आशाअपेक्षा केहि पलको पानीले सखाप पारिदियो । एक, दुई होइन ३० विगाह जमिनमा उनले केरा खेती गरेका थिए । केही वर्ष अघिदेखि झापा गाउँपालिका–३ रङपुरमा करोडौंको लगानीमा व्यवसायिक रुपमै केरा खेती गर्दै आएका उनलाई केरा नष्ट भएपछि करोडौंको नोक्सानी भएको छ । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी बिक्रीका लागि तयार गरिएको करिब २२ हजार बोटको केरा बाढीले क्षति पुर्याएपछि यतिबेला उनी आर्थिक रूपमा ठूलो क्षतिको सामनाले तनाव थपिएको बताउछन् ।

असोजको दोस्रो साता आएको बाढीले झापाको दक्षिणी क्षेत्रमा डुबान बनाएको थियो । धेरै घरपरिवारलाई विस्थापित समेत बनाएको कन्काई माईको डुबानको सिकार चन्द्र बस्नेत पनि बने । सम्पूर्ण खर्च गरि बिक्रिको लागि तयारी अवस्थामा रहेको केरा चाडपर्वको मुख्य सिजनमा क्षतिग्रस्त हुँदा समस्या भएको उनी बताउँछन् । 

प्राकृतिक विपत्तिमा परेर समस्या भएपनि अझै हिम्मत भने नहारेको उनी बताउँछन् । करोडौंको  क्षति त्यसमा पनि आफुसंगै केरा खेतीले धेरै जनाको रोजगारीमा समेत समस्या भएको छ । तर, पनि केराखेतीबाट नहट्ने यसैमा लागि रहने बताउछन्, बस्नेत । यद्दपि, किसानलाई एकै पटक करोडौंको क्षति हुँदा पनि राज्यस्तरबाट भने आवश्यक साथ सहयोग नपाएको उनको गुनासो छ ।

उनीसँगै आसपासका अन्य किसानका पनि केरा, तरकारी र धानका बालीहरूमा पनि लाखौंको क्षति पुगेको छ । बाढीपछिको पानी नघट्दा माटो जमिनमा बाक्लो तह बनेको र नयाँ रोपाइँ गर्न पनि कठिनाइ भएको जानकारहरु बताउँछन् । यता स्थानीय बासिन्दा र किसानहरूले सरकारले तत्काल क्षतिको मूल्याङ्कन गरी राहत र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने आशामा छन् । 

यहाका स्थानीयले बाढीसंगै बिपत्ती खेपेको पनि दुई साता बित्न लाग्यो तर, हालसम्म भने सम्बन्धित निकायबाट औपचारिक पहल अगाडी नबढेको पिडित किसानहरुको गुनासो छ । यसतर्फ राज्य र सम्बन्धित सरोकारवाला निकायहरुले चासो दिनुपर्ने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update