News 24 Television
दाँइ लगाउदै परम्पराको स्मरण, पोखरामा रमाए पर्यटकदेखि किसानसम्म

कास्की । पछिल्ला वर्षहरूमा धान रोपाइमा होस् या दाइँ हाल्दा गोरुको प्रयोग हुन छाडिसकेको छ । तर परम्परागत कृषि प्रणालीलाई पर्यटकीय आकर्षण बनाउनका साथै नयाँ पुस्तालाई देखाउनकै लागि पोखरा पर्यटन परिषद्ले पोखरामा दाइँ महोत्सव आयोजना गरेको छ । जहाँ पर्यटक रमाए भने कृषकहरु पनि उत्साहित बने । 

सामान्यतया मङ्सिर–पुस महिनालाई धान थन्काउने महिनाका रुपमा लिने गरिन्छ । तर, आधुनिक कृषि प्रणालीका कारण परम्परागत ढङ्गले हुने बालीनाली हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली जोगाउँदै त्यसलाई पर्यटकीय आकर्षणका रूपमा स्थापित गर्ने उद्देश्यले पोखराको पर्यटनका संघसंस्थाहरूको साझा संस्था पोखरा पर्यटन परिषद्ले अघिल्लो दुई वर्षदेखि दाइँ महोत्सव गर्दै आएको छ । 

तेस्रो संस्करणको यो दाइँ महोत्सवमा पर्यटक एवं कृषकहरु मज्जाले रमाएका थिए । धानको कुनियोलाई वैदिक विधिअनुसार पूजा गरेर सुरु गरिएको दाइँमा एक दर्जन गोरुको प्रयोग भएको थियो ।

पछिल्ला वर्षहरूमा गोरुको प्रयोगबाट हुने दाइँ प्राय शून्य छ, पोखरामा । निरन्तर २२ वर्षदेखि रोपाई महोत्सव आयोजना गर्दै आएको परिषद्ले तेस्रो पटकको यो दाइँ महोत्सवमा सहभागी हुन पाउँदा विदेशी पर्यटकहरू निकै उत्साहित थिए ।

हुन त धान रोपाइँ र दाइँ हाल्ने काम नेपाल जस्तो कृषिप्रधान देशमा नियमित कार्य हो तर कृषिमा बढ्दो आधुनिकीकरणले परम्परागत कृषि खेती त्यसको संरक्षण र प्रवर्धनका निम्ति यस्ता महोत्सव हुनुपर्ने र यसले पर्यटकको अफ–सिजनलाई थोरै भएपनि टेवा पु¥याउने विश्वास पर्यटनकर्मीको छ ।

बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा हृास आईरहेको छ । 

अहिले पनि पोखरामा ११ हजार २ सय हेक्टरमा धान खेती गरिँदै आएको छ । अर्थतन्त्रलाई पनि टेवा पुग्ने भएकाले धान खेतीको विशेष महत्व रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।

परम्परागत कृषि प्रणाली केवल खेती गर्ने एउटा विधि मात्र होइन, यो हाम्रो मौलिक संस्कृति, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनशैली पनि हो । आधुनिकतासँगै हराउँदै गएको यस्तो परम्परालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके यसले संस्कृति जगेर्ना मात्र होइन, स्थानीय कृषि र पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउन सक्नेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update