ओखलढुङ्गा । ओखलढुंगाको लेकाली भेगमा यतिबेला किसानलाई बुङ आलु खन्ने चटारो छ । गत माघ–फागुनमा रोपिएको आलु भित्रयाउने समय भएसँगै उच्च भेगका किसान आलु खन्नमै व्यस्त छन्न । जिल्लाको टोड्के, ठाडे र जन्तरखानी लगायतका क्षेत्रमा उत्पादन हुने बुङ आलुले स्थानीय बजारसँगै काठमाडौंसम्म आफ्नो पहुँच बनाउँदै गएको छ ।
माटो खन्दैछन किसान । अनि माटोभित्रबाट निस्किएका आलु टिप्दैछन । कोही आलु छुट्याउँदैछन, त कोही बोरा भर्दैछन । ओखलढुंगाको लेकाली भेगमा अहिले बुङ आलु भित्र्याउने यस्तै चटारो छ । गत माघ–फागुनमा रोपिएको बुङ आलु अहिले तयार भएपछि किसानलाई बाली भित्र्याउने व्यस्तता बढेको हो ।
वर्षौदेखि खेती हुँदै आएको बुङ आलु यहाँको लेकाली जिवनशैली र कृषी संस्कृती संग पनि जोडिएको छ । चिसो हावापानीमा उत्पादन हुने भएकाले उच्च भेगका किसानले यसलाई प्रमुख बालीका रुपमा लगाउँदै आएका छन ।
ओखलढुंगाको विशेष गरि उच्च भेगमा पर्ने ठाडे, टोड्के जन्तरखानी लगायतका क्षेत्रमा बुङ आलु खेती हुँदै आएको छ । स्थानीय हावापानी र माटो अनुकुल मानिने बुङ आलु यहाँका किसानको परम्परागत उत्पादन समेत हो । तर बुङ आलुखेतीमा मौसमले भने उत्पादनको अवस्था निर्धारण गर्ने गर्छ । वर्षा, तापक्रम र अन्य मौसमी अवस्थाले उत्पादनमा प्रत्यक्ष असर पार्ने भएकाले हरेक वर्ष उत्पादनको अवस्था एउटै हुँदैन ।
लेकाली क्षेत्रमा उत्पादन भएको बुङ आलु प्रतिकिलो ६५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । उत्पादित आलु स्थानीय बजारमा खपत हुनुका साथै काठमाडौंसम्म पुग्ने गरेको छ । बुङ आलुको उत्पादन र बजार विस्तारसँगै यसको पहिचान पनि फराकिलो बन्दै गएको छ । विशेषगरी जन्तरखानीमा उत्पादन हुने बुङ आलुले गत वर्ष नै अर्गानिक प्रमाणीकरण पाईसकेको छ । जसले गर्दा स्थानीय उत्पादनलाई अर्गानिक पहिचानसहित बजारमा स्थापित गर्न यो प्रमाणीकरणले थप आधार दिएको छ ।
एक स्थानमा करिब ५ देखी १० वर्षको अन्तरालमा र पुर्ण अर्गानिक रुपमा उत्पादन गरिने बुङ आलु अहिले किसानको खेतबाट बजारतर्फ निस्कँदैछ । मौसमअनुसार उत्पादनमा उतारचढाव आए पनि यसको बजार र पहिचान भने विस्तार हुँदै गएको छ । किसानको मेहनत, कृषि प्राविधिकको सहयोग र बजारको पहुँचलाई थप व्यवस्थित बनाउन सके बुङ आलु ओखलढुंगाको विशिष्ट स्थानीय उत्पादनका रूपमा अझ स्थापित हुनसक्ने देखिन्छ ।
