News 24 Television
वर्षाको भरमा धान खेति, किसानलाई सास्ती, १३ प्रतिशत खेतमा रोपाई बाँकी

महोत्तरी । भदौ लागिसक्दा समेत महोत्तरीमा धान रोपाइँ सम्पन्न हुन सकेको छैन । जिल्लामा धान खेती हुने कुल क्षेत्रफलको ८६ दशमलव ८ प्रतिशतमा रोपाइँ सकिए पनि अझै १३ दशमलव २ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी नै छ । पर्याप्त वर्षा नहुँदा रोपाइँमा ढिलाइ हुनुका साथै उत्पादनमा समेत असर पर्ने किसानको चिन्ता छ  । 

महोत्तरीमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा वर्षातको पानीमै किसानले धान रोपाइ गर्छन् । यसवर्ष भदौ लाग्दासमेत धान रोपाइ सकिएको छैन । समयमै पर्याप्त वर्षा नहुँदा किसानलाई बाँकी खेतमा धान रोप्न समस्या भएको छ । खेतमा पानीको अभाव भएपछि कतिपय किसान आफ्नै खर्चमा दमकल तथा मोटरको प्रयोग गरी पानी पटाएर धान रोप्न बाध्य भएका छन् ।

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा कुल ४० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ३४ हजार ७ सय २१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । अझै ५ हजार २ सय ७९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी छ । जिल्लाका विभिन्न स्थानीय तहमा भने रोपाइँको अवस्था फरक–फरक रहेको छ । लोहारपट्टी नगरपालिका, सम्सी गाउँपालिका र गौशाला नगरपालिकामा करिब ९५ प्रतिशतसम्म धान रोपाइँ सम्पन्न भएको छ । तर मनराशिसवा नगरपालिका र सोनमा गाउँपालिकामा भने करिब ५५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ  ।

किसानले सिँचाइको भरपर्दो व्यवस्था नहुँदा वर्षातको पानीमै निर्भर हुनुपर्ने अवस्था रहेको बताएका छन् । पर्याप्त वर्षा नहुँदा रोपाइँमा ढिलाइ हुनुका साथै उत्पादनमा समेत असर पर्न सक्ने उनीहरूको चिन्ता छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update