News 24 Television
विष्णुपुर पालिकामा मल वितरणमा पक्षपातको आरोप, किसान सडकमा

सप्तरी । सप्तरीको बिष्णुपुर गाउँपालिकामा मलखाद वितरणमा अनियमितता भएको भन्दै किसानहरू आक्रोशित छन् । पालिका अध्यक्षले आफन्तलाई मात्र मलखाद दिने गरेको आरोप लगाउँदै वितरण स्थलमा उनीहरुले विरोध जनाएका छन् । मल नपाउँदा किसान कसरी खेती गर्ने भन्नेमा चिन्तित छन् । 

धान रोपाइँको मुख्य समयमा मल अभावले सप्तरीको विष्णुपुर गाउँपालिकाका किसान चिन्तित छन् । मलखाद वितरणमा अनियमितता भएको आरोप लगाउँदै किसानले बिहीबार वितरणस्थलमै विरोध जनाएका छन् । उनीहरूले पालिका अध्यक्षले आफ्ना कार्यकर्तालाई मात्रै स्लिप उपलब्ध गराएर मल वितरण गरेको आरोप लगाएका छन् । 

विष्णुपुर–६ रञ्जितपुरमा रञ्जितपुर कृषि सहकारी संस्था र सनराइज कृषि सहकारी संस्था मार्फत मल वितरण हुँदै आएको छ । किसानका अनुसार पालिका अध्यक्षले दिएको स्लिपका आधारमा मात्रै मल दिइने गरिएको छ । यसले वास्तविक किसान मारमा परेको उनीहरूको गुनासो छ । 

वडा नं. ६ का वडाध्यक्ष परमानन्द यादवले तीन वर्षदेखि आफ्नो समन्वयबिनै मल वितरण हुँदै आएको बताए । वितरणमा अनियमितता भएको गुनासोपछि प्रमुख जिल्ला अधिकारीलाई समेत पत्राचार गरिएको भएपनि हालसम्म कुनै प्रभावकारी पहल नभएको उनको भनाइ छ ।

यता गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । पर्याप्त मल आपूर्ति नभएकाले सबै किसानलाई एकैपटक वितरण गर्न नसकिएको भन्दै कुनै पक्षपात नगरी वितरण गरिएको उनको दाबी छ ।

हरेक वर्ष दोहोरिने मल अभाव र वितरण विवादले किसानलाई खेतीपातीमै असर पु¥याइरहेको छ । उत्पादनसँग प्रत्यक्ष जोडिएको मल वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन सम्बन्धित निकायको प्रभावकारी निगरानी आवश्यक देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update