कास्की । नेपालीहरूको दोस्रो ठूलो पर्वका रूपमा लिइने तिहारअन्तर्गतको भाइटिका यो वर्ष विदेशी पर्यटकहरूले समेत मनाएका छन् । बिहीबार भाइटीकाका पोखरामा विभिन्न देशका २ सय बढी पर्यटकहरूले सामूहिक रूपमा भाइटिका लगाएका छन् ।
नेपालीहरूको दोस्रो ठूलो पर्व भाइटिकाको अवसरमा विदेशी पर्यटकहरूले समेत पोखरामा खुलेर भाइटिका मनाएका छन् । संस्कृति बचाऔं, पर्यटन प्रवर्धन गरौं भन्ने नाराका साथ बिहिवार पर्यटकीय राजधानी पोखरामा विभिन्न देशका २ सय पर्यटकहरूले सामूहिक रूपमा भाइटिका महोत्सव मनाएका छन् ।
होटल संघ पोखरा नेपालले आयोजना गरेको १८ औं संस्करणको भाइटीका महोत्सवमा अमेरिका, जर्मनी, इजरायल, वेलायत, स्पेन, स्वीजरल्याण्ड, रसियालगायत १२ बढी देशका पर्यटकहरु सहभागी भई टीका लगाएका हुन् ।
पर्यटकहरुलाई रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए । पर्यटकहरू दङ्ग हुँदै फोटो÷भिडियो खिच्दै रमाइरहेका थिए ।
नेपाली संस्कृतिको नौलो अनुभव लिन पाइएको र नेपालीहरूको पर्व मनाउन पाउँदा निकै खुसी लागेको विदेशी पर्यटकहरू बताउँछन् ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रमा आशा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल संघले जनाएको छ । नेपाली संस्कृतिको संरक्षण एवं संवर्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्य महोत्सवले लिएको छ ।
संस्कृतिको बारेमा जानकारी दिने र भएका पर्यटकहरुको बसाई लम्ब्याउँदै थप पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पनि यो महोत्सवलाई निरन्तरता दिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।
महोत्सवमा नेपाली परम्परा अनुसार तिहार पर्वको विधि अनुसार टिका लगाइएको थियो । पर्यटकहरुलाई निधारमा सप्तरंगी टिकाको साथमा, सयपत्री फुलका माला, पुरुष पर्यटकहरुलाई नेपाली ढाका टोपी र भाइटिका मसला समेत प्रदान गरीएको थियो ।
नेपाली संस्कृति जोडिएका यस्ता पर्वमा पर्यटकलाई जोड्न सके नेपालको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

