News 24 Television
अब स्नातकका प्रश्न पत्र नेपालीमै, त्रिवि सुधारमा शिक्षामन्त्रीकाे ध्यान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा पढाइ हुने अधिकांश विषय नेपाली भाषामा नै पढाइ हुँदै आएको भएपनि परीक्षामा प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै आउने भएकाले विषयवस्तु जानेर पनि धेरै विद्यार्थी अनुत्तीर्ण हुनुपरेको गुनासो आउने गरेको थियो ।

सांसद रहेका बेला प्रतिनिधिसभामा ‘जबसम्म प्रश्न नै बुझिँदैन उत्तर के दिने ?’ भन्दै सरकारलाई प्रश्न गरेकी  शिक्षा मन्त्री सुमना श्रेष्ठले आफै मन्त्री भएपछि अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र बनाउने निर्णय गरेकी  छन् । यो निर्णय तत्काल कार्यान्वयनमा जाने बताइएको छ । 

मुलुकको सबैभन्दा जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा बेथितिका चाङ रहेको गुनासो पटक–पटक सुनिँदै आएको छ । मुलुकका हरेक क्षेत्र त्रिविका उत्पादनले नै हाँकिरहेको भएपनि विश्वविद्यालय नेपाली भाषाप्रति उदासीन रहेको भन्दै आलोचना हुँदै आएको थियो । केहीलाई छाडेर त्रिभुवन विश्वविद्यालयमा पढाइ हुने अधिकांश विषय नेपाली भाषामा नै पढाइ हुँदै आएको छ । त्यति मात्र नभएर विद्यार्थीले ती विषयमा नेपाली भाषामा नै उत्तर लेख्न पाउने व्यवस्था छ । 

पढाइ नेपालीमा हुने, उत्तर नेपालीमा लेख्न पाइने, तर परीक्षामा प्रश्नपत्र भने अंग्रेजी भाषामा मात्रै आउने भएकाले विषयवस्तु जानेर पनि धेरै विद्यार्थी अनुत्तीर्ण हुनुपरेको गुनासो आउने गरेको थियो । अंग्रेजी माध्यममा मात्रै प्रश्नपत्र छापिँदै आएकोविरुद्ध २०७४ सालमै सर्वोच्च अदालतमा रिट पनि परेको थियो । तर, हालसम्म अदालतबाट मुद्दाको कुनै सुनुवाइ भएको छैन । अदालतबाट मुद्दाको सुनुवाइ नभएपनि त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणालीअनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र दुवै भाषामा बनाउने निर्णय गरेको छ । 

नेपालका अधिकांश सरकारी क्याम्पसमा नेपाली भाषाबाट नै अध्ययन हुने गर्छ । तर परिक्षामा भने अंग्रजी माध्यममा प्रश्नपत्र हँुदा कतिपय विद्यार्थीलाई प्रश्न बुझ्न समेत कठिन हुने गरेको थियो । जस कारण विद्यार्थीहरु प्रश्नपत्र बुझ्न नसक्दा फेल नै हुने सम्मको अवस्था आएको थियो अब त्यसको अन्त्य हुने विद्यार्थीहरुको भनाइ छ । 

शिक्षा मन्त्रालयको जिम्मेवारी सुमना श्रेष्ठले सम्हालेसँगै उनले त्रिवि सुधारका केही प्रयास गरेको देखिन्छ । विश्वविद्यालयमा रहेका विधामान समस्या र चुनौती अबको नेपालको भविष्यसँंग जोडिएकाले पनि प्राज्ञिक, प्रशासनिक, भौतिक, संरचनागत, पाठ्यक्रम र शैक्षिक व्यवस्थापन, अन्तर्राष्ट्रियकरण र गुणस्तरीयतासँगै समयमा परिक्षा र नतिजा प्रकाशनको अपेक्षा विद्यार्थीहरूको रहेको छ । यद्दपी, अहिलेको अवस्थामा आमुल परिवर्तन नआएसम्म यि समस्या सहजै समाधान भने हुने देखिन्न ।  

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update