
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको बेला समयमै निर्वाचन होला ? दलहरुमा देखिएको संसयकाबीच राष्ट्रपति पौडेलले सक्रियता बढाएका हुन् । तोकिएको समयमै निर्वाचन गराउनुपर्ने मान्यता राख्दै आएका राष्ट्रपति पौडेलले सरकारसहित दलका नेताहरुसँगको सम्वादको ढोका खुला गरिदिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएर निर्वाचनको माहोल बनाउनका लागि पाइला अघि बढाएका छन् । अन्तरिम सरकारले दलहरुसंगको सहकार्य, सम्वाद र प्रयासहरु नगरिरहेको बेला राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएर निर्वाचनको माहोल बनाउने र सरकारसंगको औपचारिक सम्वादलाई निरन्तरता दिने गरि काम अघि बढाएका हुन् । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु र दलका दोश्रो–तेश्रो तहका नेताहरु सहभागी भएको बेला यसले राजनीतिक माहोल बनाउने अपेक्षा गरिएको छ ।
राष्ट्रपतिले डाकेको बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र नेता वर्षमान पुनसहित रास्वपाबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी भएका छन् ।
यस्तै, राप्रपाबाट ज्ञानेन्द्र शाही र मीना लामा, एकीकृत समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाल, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी तथा जसपाबाट रेणु यादव, जनमतबाट अध्यक्ष सिके राउत र जयबहादुर राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, नेमकिपाबाट सुनिलकुमार प्रजापति सहभागी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिले निर्वाचनको वातावरण बनाउन कसरत थालेपनि कांग्रेसले सरकार निर्वाचन गराउन तयार नभएको भन्दै शंका गरिरहेको देखिन्छ । कांग्रेसले संसद पुनस्र्थापना र निर्वाचन दुबैलाई उपयोग गर्ने गरि छलफल गरिरहेको बताएको छ ।
कांग्रेसले जस्तै एमालेले पनि सरकारले निर्वाचन गराउदैन भन्दै आएको छ । आफूले सत्ताको नेतृत्व छाड्ने आन्दोलनको म्याण्डेट अनुसारको निर्वाचनमा एमालेले सहजै जाने स्थिति नदेखिएपनि राष्ट्रपति पौडेलले प्रयास थालेका छन् ।
माओवादी केन्द्रले भने अबको आवश्यकता चुनाव नै भएको र त्यसपछि संविधान संशोधन गरेर जानुपर्नेमा जोड दिइरहेको छ । जेनजी आन्दोलनको मर्म र भावनालाई समेटेर जानुपर्ने दाबी गरेको माओवादीले चुनावमा जाने विषयमा प्रष्ट रुपमा आफ्नो दृष्टीकोण सार्वजनिक गरिरहेको छ ।
तर, एमाले भने अन्तरिम सरकारले निर्वाचन गराउनेमा विश्वास नभएको दाबी गरिरहेको छ । अहिलेको सरकारले निर्वाचन नगराउने दाबी गर्दै एमालेले प्रतिशोध साँध्ने काम हुने भनिरहेको छ ।
कांग्रेस–एमालेमा एकखाले तनाव देखिएपनि निर्वाचनको विकल्प नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने वातावरण बनाउनमा जोड दिन थालेका छन् । दुई ठूला दलले निर्वाचन हुने नहुनेमा आशंका व्यक्त गरिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार छनोटको मापदण्डको विषयमा समेत निर्णय गरेको दाबी गरेको छ ।
शितलनिवासमा राष्ट्रपतिको अगुवाईमा भएको बैठकमा दलका दोश्रो–तेश्रो तहका नेताहरुको सहभागीताले समेत निर्वाचनको वातावरण बनाउने विश्वास गरिएको छ । राजनीतिक दलहरुले समेत जेनजी आन्दोलन र यसको मर्मअनुसार निर्वाचनमा नगई विवाद र बखेडा झिक्न थाल्ने हो भने यो प्रतित्पादक हुनेमा शंका छैन् ।
राष्ट्रपति कार्यालयमा के भयो ?
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी भएकी छन् । सरकारले पनि निर्वाचन तोकिएको समयमै सम्पन्न गराउने जिम्मेवारी र बहस गर्ने दाबी गरिरेहको छ भने सर्वदलीय बैठकमा समेत सरकारका मन्त्रीहरुको सहभागीताले दल र सरकारबीचको आपसी विश्वास समेत बढ्ने विश्वास गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्रै विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् ।
शितलनिवासमा भएको छलफकको क्रममा उनले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यस्ता विषयले देशलाई ठूलो क्षति पुर्याउने विषयमा समेत सोच्न अपिल गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले समेत चुनावमा दलको सहभागीता नहुने विषयमा सरकारले कल्पना नगरेको भन्दै आश्वस्त पार्न खोजेको बताइएको छ ।