News 24 Television
जेनजीका नाममा एनजीओको बर्चश्व !

काठमाडौं । शुक्रबार दलसँग निर्वाचनको बारेमा छलफल गरेका राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जेनजी अगुवाहरुसंग निर्वाचनको बारेमा छलफल गर्ने भनिएको थियो । त्यसैले शनिबार केही जेनजी अगुवाहरु राष्ट्रपति कार्यालय पुगे ।

केहीले राष्ट्रपति कार्यालय भित्र वार्ताको लागि प्रवेश पाउँदा केही भने कार्यालय अगाडी आन्दोलित देखिए । शनिबार राष्ट्रपति पौडेलको स्वाथ्यमा समस्या देखिएपछि वर्ता त हुन सकेन तर राष्ट्रपति कार्यालय बाहिर रहेका जेनजीहरुले भने जेनजीका नाममा केही एनजीओ र आइएनजीओको टोलीले राष्ट्रपतिसँग वार्ता गर्न खोजेको भन्दै विरोध गरे । 

शुक्रबार बेलुकीसम्म नै दलहरुसंग राष्ट्रपति, प्रधानमन्त्रीसहित दलका नेताहरुले फागुनमा घोषणा गरीएको निर्वाचनको बिषयमा राष्ट्रपति कार्यालयमा छलफल गरेका थिए । बैठकबाट केही निश्कर्ष ननिस्किए पनि यसले निर्वाचनको बिषयमा संवाद शुरु भएको सन्देश दिएको थियो । 

दलसंग वार्ता बसे लगतै शनिबार जेनजीका प्रतिनिधिहरुसंग छलफल गर्ने भनिएको थियो । सोही कारण जेनजी अभियान्ताहरु बिच शुक्रबार छलफल हुँदा १३ जना छलफलमा सहभागी हुने निश्कर्ष निस्किएको थियो । तर शनिबार राष्ट्रपति कार्यालयमा छलफलका लागि जाँदा शुक्रबार छलफल भएर वार्ता टोलिमा को को जाने भनेर निश्कर्ष निकालिएको ब्यक्तिहरु भन्दा पनि फरक ब्यक्तिहरु वार्ताको लागि प्रवेश पाएको भन्दै केही जेनजी अगुवाहरु राष्ट्रपति कार्यालय बाहिर भेला भएर नाराबाजी गरे । वास्तविक जेनजी लिडरहरुलाई छाडेर एनजीओ र आइएनजीओका प्रतिनिधिहरुसंग छलफल गर्ने तयारी भएको उनीहरुको आरोप छ ।  

जेनजी अगुवाहरुले अहिले सातै प्रदेशमा जेनजी समुहको नेतृत्व समेत तोकेर अगाडी बढी रहेका छन् । २३ र २४ गतेको आन्दोलन काठमाडौंमा मात्रै नभएर देशभर भएको थियो । सोही कारण वार्तामा जाँदा समग्र देशभरकै प्रतिनिधिहरुको प्रतिनिधित्व हुने गरी सहभागीता गराउनु पर्नेमा उनीहरुको माग छ । तर सरकारदेखि हरेक तहमा वार्ता हुदाँ केही सिमित ब्यक्ति र गैरसरकारी संस्थाका प्रतिनिधिहरुसंग वार्ता हुने गरेको उनीहरुको भनाइ छ । 

भदौ २३ र २४ गतेको आन्दोलनको नेतृत्व कोही पनि तोकिएको थिएन । सामुहिक नेतृत्वमा आन्दोलन भएको थियो । आन्दोलनमा दलसंग आस्थावान् देखि दलभन्दा बाहिर रहेका स्वतन्त्र जेनजीहरुको समेत सहभागीता थियो । त्यसैले आन्दोलन सफल बनाउन लागेका सबै पक्ष संग छलफल हुनु पर्ने आफुहरुले आवाज उठाई रहेकै बेला केही गैरसरकारी संस्थाको प्रतिनिधिसंग मात्रै छलफल हुदाँ यसले मुलुकको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रता माथि नै प्रश्न उठाएको उनीहरुको आरोप छ । 

जेनजी आन्दोलनले ठुला दुई दल कांग्रेस एमालेको सरकारलाई अपदस्त गर्न सफल भए पनि त्यस यता मुलुकलाई कुन दिशाबाट अगाडी लैजाने भन्ने बिषयमा भने अझै निस्कर्ष निस्किएको छैन । दलका भातृ संगठनका नेतृत्व कर्ता र विदेशी दातृ निकायको सहयोगमा सञ्चालन भएका गैरसरकारी संस्थाका प्रतिनिधिहरुकै झल्को दिने गरी जनेजीहरु वाँडिएका छन् । 

यसले आगामी दिनमा अझै मुलुकलाई अस्थिरताको बाटोमा अगाडी बढाउने र देश नै गृह युद्धमा फस्ने खतरा देखिएको छ । त्यसैले नागरीक स्तरबाटै स्वतन्त्र रुपमा मुलकलाई अगाडी बढाउनका लागि सरकारलाई खबरदारी सहित मार्ग निर्देशन गर्नु पर्ने दखिएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update